काठमाडौँ, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार नै समृद्धिको मुख्य आधार भएको बताएका छन्। बिहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (थिंक ट्याङ्क इन्स्पायर) को वेबसाइट सार्वजनिक गर्दै उनले राजनीतिक तथा नीतिगत बहसहरू आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो। यसका लागि केवल नारामा मात्र सीमित नभई नीतिगत स्पष्टता र उत्पादनमुखी रोजगारी आवश्यक छ।” उनले रोजगारीको वास्तविक मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने स्पष्ट पारे।
अध्यक्ष ओलीले जातीय पहिचानका आधारमा मात्र नभई आम्दानीका स्रोत सिर्जना गर्ने र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने गरी रोजगारीका अवसरहरू उपलब्ध गराउनुपर्ने बताए। उनले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने धारणा राखे।
आफ्नो राजनीतिक तथा सामाजिक मान्यताहरूको मूल आधार ‘मानवतावाद’ भएको उल्लेख गर्दै ओलीले हरेक नागरिकलाई गाँस, बास, कपास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु राज्यको कर्तव्य भएको बताए। “जात, वर्ग वा समुदाय जे भए पनि आम जनता नै हाम्रो प्राथमिकतामा हुनुपर्छ। मानवताको कल्याण र समान अवसरलाई केन्द्रमा राखेर नीति निर्माण गर्नु नै राज्यको उद्देश्य हुनुपर्छ,” उनले भने।
अध्यक्ष ओलीले सत्य, न्याय र समानताको मार्गबाट मात्रै समग्र समाजको कल्याण र समृद्धि हासिल गर्न सकिने भन्दै विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया