काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शशांक कोइरालाले आफू कुनै पनि हालतमा पार्टी विभाजन वा नयाँ दल गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
काठमाडौँमा जारी संस्थापन इतर पक्षको राष्ट्रिय भेला (सम्मेलन) का क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै भेला आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले यो भेला पार्टी फुटाउन नभई नीतिगत रूपमा सुधार्न र बलियो बनाउन आयोजना गरिएको दाबी गरे । पार्टीभित्र नयाँ दल गठनको चर्चा चलिरहेका बेला उनको यो स्पष्टीकरण आएको हो।
नेता कोइरालाले बदलिँदो वैश्विक र आन्तरिक परिवेश अनुसार पार्टीको नीति, विचार र कार्यदिशालाई परिमार्जन गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने बताए। पार्टीभित्रका आन्तरिक असन्तुष्टि, विवाद र मतभेदहरूलाई संवादकै माध्यमबाट समाधान गर्न सकिनेमा उनले जोड दिए। "देशले संविधान पाइसकेको छ, अब कांग्रेस पुराना सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुनुपर्छ," कोइरालाले भने।
आगामी १५औँ महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सुनिश्चित हुने कोइरालाको दाबी छ। नेतृत्वको विषयमा बोल्दै उनले आफू पनि सभापति पदको आकांक्षी रहेको तर संस्थापन इतर समूहबाट नेता डा. शेखर कोइराला सभापतिको साझा उम्मेदवार बनेको खण्डमा आफूले पूर्ण रूपमा सहयोग गर्ने प्रस्ट पारे।
संसद्मा दुई ठूला दलको स्पष्ट बहुमत भए तापनि वर्तमान सरकारले नागरिकले महसुस गर्ने गरी कुनै ठोस वा उल्लेखनीय काम गर्न नसकेको भन्दै उनले आलोचना गरे। यो सरकारलाई सामान्य 'कामचलाउ' सरकारको संज्ञा दिँदै कोइरालाले राजनीतिमा यो सरकार ५ वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने दुवै सम्भावना उत्तिकै रहेको तर्क गरे।
इतर पक्षको यो राष्ट्रिय भेलालाई बन्दसत्रका क्रममा 'राष्ट्रिय सम्मेलन' मा परिणत गरिएको छ, जहाँ विभिन्न राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरूमाथि घनीभूत छलफल भइरहेको छ ।
प्रतिक्रिया