×

१० देशका राजदूत अनुमोदन हुँदा मलेसिया र साउदीका प्रस्तावित राजदूत समितिबाटै अस्वीकृत, जापानको 'होल्ड' मा

images

काठमाडौँ, २८ असोज २०८३ - संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सुनारको नैतिक आचरण, विगतका विवाद र कूटनीतिक योग्यतामाथि गम्भीर प्रश्न उठाउँदै राजदूत पदका लागि उनको नाम अनुमोदन गर्न अस्वीकार गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्न र उजुरीमाथिको छलफलपछि सुनारको नाम अस्वीकृत भएको औपचारिक घोषणा गरे । नेपालको संसदीय सुनुवाइको इतिहासमा सरकारले सिफारिस गरेको राजदूतको नाम समितिबाटै अस्वीकृत भएको यो विरलै घट्ने घटनामध्ये एक हो।

के-के थिए सुनारमाथि लागेका गम्भीर आरोप?

मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले सुनारलाई साउदी अरबको राजदूतका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । तर सुनुवाइ प्रक्रिया सुरु भएसँगै उनीविरुद्ध समितिमा गम्भीर प्रकृतिका उजुरीहरू दर्ता भएका थिए । मुख्य गरी निम्न विषयमा उनीमाथि प्रश्न उठाइएको थियो:

  • जर्मनीबाट डिपोर्ट गरिएको खुलासा: सुनार विगतमा जर्मनीमा अनुवादकका रूपमा जाँदा त्यहाँको कानुन उल्लङ्घन (ओभरस्टे) गरेर जर्मन अधिकारीहरूद्वारा हिरासतमा लिई, हत्कडी लगाएर नेपाल निष्कासन (डिपोर्ट) गरिएको विवरण समितिमा पुगेको थियो ।
  • महिला हिंसा र धम्कीको आरोप: उनीमाथि विवाहेत्तर सम्बन्ध राखेको, जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप गरी पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि लगातार यातना दिएको, धम्क्याएको र आत्महत्या गर्न दबाब दिएको जस्ता चारित्रिक प्रश्न उठेका थिए ।
  • आर्थिक लेनदेन र बिचौलियाको आशंका: एक जना डीआईजी (DIG) को बढुवा प्रक्रियाका क्रममा रास्वपाका सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको तथा विभिन्न व्यक्तिहरूबाट रकम उठाएर व्यवस्थापन गर्ने गरेको उजुरी परेको थियो ।

सांसदहरूको कडा अडान, सुनारद्वारा आरोप अस्वीकार

सुनुवाइका क्रममा सांसदहरू वर्षमान पुन, पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरा लगायतले नैतिक चरित्रमा दाग लागेको व्यक्तिलाई महत्त्वपूर्ण कूटनीतिक जिम्मेवारी दिन नसकिने अडान राखेका थिए । रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले समेत सुनारलाई राजदूत बनाउन नमिल्ने स्पष्ट पारेका थिए ।

तर, प्रस्तावित राजदूत सुनारले भने आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका थिए । उनले १३ वर्षअघिको सामान्य विवादलाई लिएर अहिले सुनियोजित रूपमा आफ्नो चरित्रहत्या गर्न खोजिएको र जर्मनीबाट डिपोर्ट भएको कुरा असत्य रहेको जिकिर गर्दै नाम फिर्ता नलिने अडान राखेका थिए । तर उनीबाट प्राप्त जवाफ चित्तबुझ्दो नभएको भन्दै समितिले उनको नाम खारेज गरिदिएको छ ।

१० देशका राजदूत अनुमोदन, मलेसियाका खरेल पनि अस्वीकृत

बुधबारकै बैठकले १३ देशका प्रस्तावित राजदूतहरूमध्ये १० जनाको नाम भने नियुक्तिका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा रहेका छन्।

यसैबिच, मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम पनि आर्थिक लेनदेन र स्वार्थको द्वन्द्वका कारण समितिले अस्वीकृत गरेको छ भने जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाम 'होल्ड' मा राखिएको छ । सुनारको नाम अस्वीकृत भएसँगै सरकारले साउदी अरबका लागि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको छ ।


बुधबार २८ असोज २०८३ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया