×

इङल्याण्डविरुद्ध १९३ रनको लक्ष्य पछाएको भारतले गुमायो ४ विकेट

images

काठमाडौँ । भारत र इङल्याण्डको तेस्रो टेस्टको नतिजा आउने निश्चित भएको छ । चौथो दिनको खेल सकिदा १९३ रनको लक्ष्य पाएको भारतले ४ विकेट गुमादै ५८ रन बनाएको छ । भारतले लक्ष्य पछाउनेक्रममा १७.४ ओभर खेल्दै आफ्ना शुरुवाती चार ब्याट्सम्यान गुमाएको हो । भारतका यशस्वी जैसवाल शुन्यमा आउट भएका थिए भने करुण नायरले १३ र कप्तान शुभमन गिलले ६ रन बनाएर आउट भए । त्यस्तै नाइट वाचम्यानको रुपमा मैदानमा गएका बलर आकास दीप एक रन बनाएर आउट भएपछि चौथो दिनको खेल सकिएको थियो ।

भारतका ओपनर केएल राहुल ३३ रन बनाएर खेलिरहेका छन् । अब खेलको पाँचौं दिन भारतलाई खेल जित्न थप १३५ रन आवश्यक रहेको छ भने इङल्याण्डलाई यो खेल जित्न थप ६ विकेट आवश्यक रहेको छ । 

इङल्याण्ड टेस्टको चौथो दिन आफ्नो दोस्रो इनिंगमा १९२ रनमा अल आउट भएपछि भारतले १९३ रनको लक्ष्य पाएको थियो ।

इङल्याण्डका लागि जो रुटले सर्बाधिक ४० रन बनाए भने कप्तान बेन स्टोक्सले ३३, ह्यारी ब्रुकले २३ र ज्याक क्रवलीले २२ रन बनाएका थिए । त्यस्तै भारतका बलर वाशिंगटन सुन्दरले सर्बाधिक ४ विकेट लिए भने जसप्रित बुमराह र मोहमद सिराजले २-२ विकेट लिए । त्यस्तै नितिश कुमार रेड्डी र आकास दीपले एक एक विकेट लिए ।

यसअघि पहिलो इनिंगमा भारत र इङल्याण्डले ३८७-३८७ रन बनाएका थिए । ५ खेलको टेस्ट सिरिजमा दुवै १-१ को बराबरीमा रहेका छन् ।

 

सोमबार ३० असार २०८२ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया