काठमाडौँ, १ जेठ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा आज काठमाडौँ क्षेत्र १का सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गर्नुभएको छ ।
सो छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाउनुभएको छ । छलफलमा उहाँले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिनुभएको छ । पञ्चायत स्मारक पार्क बनाउन २०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो तर अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुनसकेको छैन । सांसद गौतमले पनि यो समस्या समाधानका लागि प्रयास गरिरहनुभएको छ । उहाँले पटक–पटक प्रतिनिधिसभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाउनु भएको थियो ।
छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो । तीन कुनेमा सरकारबाट केही जग्गाधनीले मुआब्जा बुझिसकेका छन् । केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्याङ्कनसमेत भएको छैन ।
प्रतिक्रिया