काठमाडौँ -साहिल पटेल र नीरज यादवको उत्कृष्ट ब्याटिङको मद्दतले नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा सोमबार ओमान यू–१९ लाई ८ विकेटले पराजित गरेको छ।
साहिल र नीरजले १० ओभरमा ८५ रनको साझेदारी गरेपछि नेपालले माथिल्लो मूलपानी क्रिकेट मैदानमा ११८ रनको लक्ष्य १४.३ ओभरमा पूरा गर्यो। नीरजले ३१ बलमा ५ चौका र २ छक्कासहित ४६ रन बनाए। ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरेका साहिल ४४ रनमा आउट भए। कप्तान नरेन भट्ट ९ बलमा २ चौकासहित १२ रन र सन्तोष यादव ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे।
यो नेपालको लगातार दोस्रो जित हो। यसअघि नेपालले शनिबार पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो। ओमानको भने यो लगातार दोस्रो हार हो।यसअघि टस हारेर ब्याटिङ गरेको ओमान युवराज खत्रीको ५ विकेटको सहयोगमा ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो।
लेग स्पिनर युवराजले ७ ओभरमा १ मेडन राख्दै १५ रन दिएर ५ विकेट लिए। सातौं बलरको रूपमा आएका उनले ३०औं ओभरमा जित ब्रजेश साहलाई आउट गर्दै विकेट लिन सुरु गरेका थिए र ओमानको पछिल्लो ५ विकेट नै उनले लिए।
सन्तोष यादवले ८ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर २ विकेट लिए। अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले १/१ विकेट हात पारे। नेपालले दर्श सोनारको स्थानमा दयानन्दलाई टिममा समावेश गरेको थियो।
ओमानका लागि जित ब्रजेश साहले सर्वाधिक ५२ रन बनाए। उनले ७८ बलमा ६ चौका प्रहार गरे। प्रतिश हेमा रमेश १० रन र सिद्धार्थ सोम्य शंकर १६ रनमा आउट भए। कभिस राजेशकुमार शाह ९ रनमा अविजित रहे।
प्रतिक्रिया