काठमाडौं। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत जारी खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन जोडेको हो ।
नामिबियाका लागि माइकल भान लिङ्गेनले एक सय ३३ को शतकीय पारी खेले उनले १ सय ३७ बलमा ९ चौका र ५ छक्का प्रहार गरेका हुन् । नामिबियाका लागि सर्वाधिक रन हान्ने उनी दोस्रो खेलाडी समेत बनेका छन्। यसअघि माइकलले १ सय २१ रन हानेका थिए।
त्यस्तै कप्तान जर्हार्ड इरासमसले ५६ रनको अर्धशतकीय इनिङ खेले । यी दुईले तेस्रो विकेटका लागि एक सय २४ रनको साझेदारी गरेका थिए।
सुरुको २५ ओभरमा २ विकेट गुमाएर ९३ रन मात्र जोडेको नामिबिया त्यसपछि आक्रामक बनेको थियो।
करणले लिए पाँच विकेट
नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए। करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए। त्यस्तै ६ महिनापछि खेलमा फर्किएका सन्दीप लामिछानेले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे। सोमपाल कामी र कुशल मल्लले एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
प्रतिक्रिया