काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा थापाको मात्रै उम्मेदवारी दर्ता भएको हो ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए ।
देउवासँग १ घण्टा लामो छलफल भए पनि वार्ता निष्कर्षमा नपुगेको स्रोतले बतायो ।
सहमति हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्मा देउवा निवासबाट बाहिरिएका छन् । स्रोतका अनुसार वार्तामा सभापति देउवा निर्वाचनमा टिकट वितरणका लागि हस्ताक्षर अरुलाई हस्तान्तरण गर्न तयार भएकोमा महामन्त्रीद्वयले देउवाले सभापतिबाट राजीनामा दिनुपर्ने अड्डी कसेपछि आजको वार्ता असफल भएको बताइएको छ ।
काठमाडौंको भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशन गत पुस २७ गतेदेखि जारी रहेको छ । विशेष महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यतालिकासमेत प्रकाशन भइसकेको छ । विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ । सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
प्रतिक्रिया