×

एमाले शीर्षनेता को कति सुरक्षित ?

images

काठमाडौं। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वसन्ध्यामा एमाले शीर्षनेता चुनावी मैदानमा उत्रिसकेका छन् । पाँच दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका शीर्षनेता ‘को कति सुरक्षित छन्?’ भन्ने विषयमा जोड–घटाउसमेत सुरु भएको छ ।

४ मंसिर निर्वाचन केन्द्रित गरेर एमालेले जनपरिचालन थालिसकेको छ । १ सय ६५ क्षेत्रमध्ये हाल एमालेसँग १ सय ४० सिटको उम्मेदवारी छ । बाँकी सिटमा एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राप्रपा र बागी उम्मेदवारसँग तालमेल गरेको छ ।

निर्वाचनमा तालमेल गर्दा हाल एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट २०७४ सालमा ५७ हजार मत ल्याएर ओलीले चुनाव जितेका थिए ।

यसपटक भने अध्यक्ष ओलीले राप्रपाको साथ पाउने निश्चित छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्रबाट ४१ हजार ६ सय १९ मत प्राप्त गरेको थियो । सो मत वडाध्यक्षले पाएको मतभार हो ।

त्यस्तै, वडाध्यक्षमा कांग्रेसले २२ हजार, माओवादीले १० हजार ७ सय ७८, राप्रपाले ८ हजार ३ सय ५३ र नेकपा एसले १९ सय मत ल्याएका थिए । यो हिसाबले हालको गठबन्धन सबै दलको मत जोड्दा पनि एमाले अध्यक्ष ओली ६ हजार ८ सय ३१ मतले अगाडि छन् ।

राप्रपाको पनि साथ पाउँदा ओली १५ हजारभन्दा बढी मतले अगाडि देखिन्छन् । यस हिसाबमा ओली ‘सेफजोन’मा छन् । तर, चुनावका समयसम्म पुग्दा मत थपघट भने हुने निश्चित छ ।

त्यस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दिएका छन् । २०७४ सालको निर्वाचनमा वामगठबन्धन उम्मेदवार रहेर सो क्षेत्रबाट चुनाव जितेका पोखरेल योपटक कुनै गठबन्धनबिनै चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतान्तरसहित पोखरेल विजयी भएका थिए । योपटक पनि उनी सो क्षेत्रबाट चुनाव जित्ने दाउमा छन् ।

यसपटक पोखरेलको प्रतिस्पर्धा कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग हुँदै छ । तनहुँ छाडेर अन्तिम समय काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दिएका पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न कठिन पर्ने देखिन्छ ।

स्थानीय तहको मतभार हेर्दा पोखरेल गठबन्धनभन्दा ५ हजार मतले अगाडि देखिन्छन् । कांग्रेसको मात्रको जनाधारका भरमा पौडेलले चुनाव लड्नुपर्दा गाह्रो छ । स्थानीय तहको परिणाम हेर्दा माओवादीको सो क्षेत्रमा ५ सय जना मात्रै मतदाता छन् ।

एमालेका प्रभावशाली उपाध्यक्ष विष्णु पौडेल रूपन्देही २ बाट चुनावी मैदानमा उत्र“दै छन् । उनीसँग यसपटक चुनाव लड्न तयार भएका नेकपा एसले राजु गुरुङलाई उतारेको थियो ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले आठवटा ‘चेक बाउन्स’ गराएको र कालोसूचीमा परेको बेहोराको उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवार खारेज गरेको छ ।

गठबन्धन उम्मेदवारको उम्मेदवारी खारेज गरेसँगै पौडेलको प्रतिस्पर्धामा उठ्ने बलिया उम्मेदवार कोही पनि छैनन् । यसकारण उनी जितनजिक छन् ।

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम–२ बाट उम्मेदवारी दिएका छन् । अघिल्लोपटक २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार केशव थापालाई ९ हजार ६ सय ५२ मतान्तरले हराएका थिए । राजधानी दैनिकबाट

बिहीबार २७ असोज २०७९ ०७:४४ AM मा प्रकाशित

प्रतिक्रिया