×

प्रमुख सचेतक बुर्लाकोटीको स्पष्टोक्ति— 'खगेन्द्र सुनार दोषी देखिए कारबाही हुन्छ, कानुनभन्दा माथि कोही छैन'

images

काठमाडौँ, २७ असोज २०८३ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा मुछिएका पार्टीका प्रतिनिधिसभा सदस्य (सांसद) खगेन्द्र सुनारमाथि छानबिन भइरहेको र अनुसन्धानबाट दोषी देखिए कडा कारबाही गरिने स्पष्ट पारेका छन् । मङ्गलवार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बुर्लाकोटीले पार्टीको संयन्त्रमा गम्भीर छलफल भएर यो विषय केन्द्रीय अनुशासन आयोगमा गइसकेको जानकारी दिएका हुन् ।

सार्वजनिक भएका भिडियो तथा अडियो सामग्रीहरूको सत्यता जाँच गर्न राज्यका अनुसन्धान निकाय र पार्टी दुवै लागिपरेको उनले बताए।

अडियो र भिडियो 'फेक' हो वा सत्य, जाँच हुनुपर्छ

सञ्चारमाध्यममा सार्वजनिक भएका अडियोहरूका विषयमा बोल्दै बुर्लाकोटीले सामग्रीहरूको प्राविधिक जाँच हुनुपर्ने आवश्यकता औँल्याए । “जे छानबिन हुनुपर्ने हो, त्यसको अनुसन्धानमा त जानैपर्‍यो। बाहिर अफवाह मात्रै फिँजाइएको हो कि, या त्यो भिडियो-अडियो नक्कली हो वा सत्य हो, जे चिज छ त्यो अनुसन्धानबाट स्पष्ट हुनेछ,” उनले भने।

उनले हेर्ने बित्तिकै सत्य-तथ्य थाहा पाउने भए अनुसन्धान नै गर्नु नपर्ने भन्दै आधिकारिक निकायहरूको प्रतिवेदन नआउँदासम्म धैर्यता अपनाउन सबैलाई आग्रह गरे।

अनुसन्धान नसकिँदासम्म सार्वजनिक कार्यक्रममा रोक

पार्टीको निर्णयअनुसार अनुशासन आयोगको अनुसन्धान प्रक्रियालाई निष्पक्ष राख्न सांसद सुनारमाथि कडा आचारसंहिता लागू गरिएको छ । बुर्लाकोटीका अनुसार अनुसन्धानलाई टुङ्गोमा नपुर्‍याउँदासम्म पदीय हिसाबमा कुनै पनि औपचारिक वा सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुन सांसद सुनारलाई निर्देशन दिइसकिएको छ। सोही निर्देशनपछि सुनार दाङको दलीय कार्यक्रम बीचमै छाडेर काठमाडौँ फर्किएका छन्।

राज्यका निकायलाई रास्वपाको पूर्ण सहयोग

प्रमुख सचेतक बुर्लाकोटीले यो घटना केवल संसदीय गतिविधिमा मात्र सीमित नरही पार्टीको आन्तरिक अनुशासन र आचरणसँग जोडिएकाले केन्द्रीय अनुशासन आयोग सक्रिय बनाइएको स्पष्ट पारे। उनले भने, “राज्यको संयन्त्रले आवश्यक गर्नुपर्ने अनुसन्धान गरोस्, त्यसमा पार्टीको तर्फबाट पूर्ण सहयोग हुन्छ। कानुनभन्दा माथि कोही पनि छैन ।”

विगतमा सांसद कृष्णकुमार कार्कीको विषयमा पार्टीले स्पष्टीकरण सोधेपछि कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भए पनि सुनारको हकमा भने केही प्रमाणसहित सामग्री बाहिरिएकाले सत्यता जाँच्न अनिवार्य भएको उनको भनाइ थियो। अनुसन्धानबाट गल्ती नभएको पुष्टि भएमा केही नहुने तर दोषी पाइएमा पार्टीको विधान र कानुनअनुसार कारबाही भोग्नुपर्ने उनले प्रस्ट पारे ।

मङ्गलबार २७ असोज २०८३ ०७:३७ PM मा प्रकाशित

प्रतिक्रिया