काठमाडौँ, २९ असार । काठमाडौँका विभिन्न सञ्चारमाध्यमका कार्यालयहरू बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा पार्किङ गरेर छाडिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मिडियालाई त्रसित बनाउने र मनोवैज्ञानिक दबाबमा राख्ने नियतले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य-मान्याताको ठाडो उल्लङ्घन भएको रास्वपाको ठहर छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र प्रेस स्वतन्त्रता संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेका छन्। विज्ञप्तिमा भनिएको छ, “एक लोकतान्त्रिक र विधिको शासनमा विश्वास गर्ने दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिन्छ।”
कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजन लगायतका सञ्चार गृहका मुख्य गेटमै गाडी राखेर आउजाउ अवरोध पुर्याइएको घटनालाई रास्वपाले प्रेस जगतलाई त्रसित पार्ने प्रपञ्चको रूपमा लिएको छ। रास्वपाले यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग जोडदार माग गरेको छ।
पार्टीले यस्ता शङ्कास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तिनीहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। साथै, रास्वपाले सञ्चारजगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी व्यावसायिक धर्म निर्वाह गरिरहन अपिलसमेत गरेको छ।
सोमबार बिहानै काठमाडौँका प्रमुख मिडिया हाउसका गेट अगाडि बेवारिसे अवस्थामा गाडीहरू फेला परेका थिए। कान्तिपुरको गेटमा भेटिएको बा ०१–०३४ च ८४८० नम्बरको कार रास्वपाकै केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रवि जयसवालले प्रयोग गर्ने गरेको खुलेपछि घटनाले नयाँ मोड लिएको थियो। यद्यपि, रास्वपाले आधिकारिक विज्ञप्ति निकाल्दै यस प्रकारका हर्कतको विरोध गरेको छ र संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
अहिले प्रहरीले ती गाडीहरू क्रेनको सहायताले हटाई घटनाबारे सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणमार्फत सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया