×

स्ववियु निर्वाचन: बिथोलियो उपत्यकाका केही क्याम्पसमा मनोनयन

images

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने क्रममा उपत्यकाका आधा दर्जन क्याम्पसमा मनोनयन गर्ने क्रममा नाराबाजी भएका छन् । उपत्यकामा त्रिभुवन विश्वविद्यालयका २२ आंगिक क्याम्पस छन् ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने क्रममा पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, रत्नराज्यलगायत केही क्याम्पसमा विद्यार्थी संगठनले निर्वाचन बिथोलेका थिए ।

दरबारमार्गको त्रिचन्द्र र कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि अवरोध सिर्जना भएपछि निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । दुवै क्याम्पस मनोनयनको दिन शनिबार पूर्ण रूपमा सुनसान थियो ।

सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ । आरआरमा मिलोमतोमा मतदाता थपघट गरेको भन्दै सरकारआबद्ध विद्यार्थी संघ संगठनले मनोनयनमा अवरोध गरेका थिए ।

अनोस्ववियुका एक विद्यार्थीले क्याम्पस परिसरमै खुकुरी आतंक मच्चाएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो । पाटन क्याम्पसमा नेविसंघका दुई गुटबीचको झडपको कारण समस्या देखिएको छ । पछिल्लो जानकारीअनुसार मनोनयन रोकिएका केही क्याम्पसमा मनोनयनका लागि वार्ता भैरहेको छ ।

यसअघि सरकार आबद्ध गठबन्धन मिलेर स्ववियु निर्वाचनमा भाग लिने उल्लेख भए पनि केही क्याम्पसमा कार्यान्वयन हुन सकेको छैन । त्रिवि केन्द्रीय निर्वाचन समितिले सामान्य झगडाका विषयमा निर्वाचन रोक्न नहुने भन्दै सुरक्षाकर्मी परिचालन गरेरै भए पनि निर्वाचन गर्न क्याम्पस प्रमुखलाई निर्देशन दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

आइतबार​ २८ फागुन २०७९ ०९:११ AM मा प्रकाशित

प्रतिक्रिया