×

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण- सकियो रविको बयान, थुनछेक बहस पनि आजै

images

काठमाडौं । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान केही बेरअघि सकिएको हो। बयान सकिएसँगै थुनछेक बहस आजैबाट सुरु हुने अदालत स्रोतले जनाएको छ । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । सो सहकारीमा मुछिएका सातै जनालाई धरौटी माग गरिएको थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।

आइतबार​ २८ पुस २०८१ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया