×

म्याग्दीमा जलविद्युत् गृहमाथि खस्यो विनासकारी सुक्खा पहिरो: १४ मेगावाट उत्पादन ठप्प, एक मजदुर बेपत्ता

images

म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा गएको सुक्खा पहिराका कारण घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह (पावरहाउस) मा ठूलो क्षति पुगेको छ। आज बिहान माथिबाट खसेको विनासकारी सुक्खा पहिरोले १४ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनालाई निशाना बनाएको हो। पहिरोमा परी आयोजनाका एक जना कर्मचारी बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार विद्युत्गृह माथिको भिरबाट अचानक ठूला-ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेको थियो। पहिरोले विद्युत्गृहको संरचना, मेसिनरी औजार र भित्र पार्क गरिएका सवारीसाधनहरूमा ब्यापक क्षति पुर्‍याएको छ। पहिरो जाँदा ड्युटीमा रहेका एक जना प्राविधिक कर्मचारी भग्नावशेष र लेदोमा पुरिएर बेपत्ता भएका छन्। उनको पहिचान खुल्न बाँकी रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

पहिरोमा परी गम्भीर घाइते भएका अर्का एक कर्मचारीलाई स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरेको छ। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइने तयारी भइरहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको टोलीले बेपत्ताको खोजी गरिरहेको भए पनि माथिबाट अझै साना-साना ढुङ्गा खसिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। पहिरोका कारण आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।


 

मङ्गलबार २६ साउन २०८३ ०९:२४ AM मा प्रकाशित

प्रतिक्रिया