फलेन्द्र मगर / दुबई
दुबई, ११ अगस्ट नेपाल आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणको सन्देशसहित युएईमा ३२औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईमा आबद्ध विभिन्न जातीय संघ–संस्थाहरूको संयुक्त आयोजनामा दिवस विविध सांस्कृतिक गतिविधिसहित मनाइएको हो।
कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गीत र आदिवासी जनजातिहरूको राष्ट्रिय गीतबाट गरिएको थियो। त्यसपछि कार्यक्रमका सभाध्यक्ष भागरथी कुमार भगत, प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावासका श्रम काउन्सिलर कुन्जन साह तथा विशिष्ट अतिथि र अन्य अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि साहले विभिन्न नेपाली जातजातिले पुस्तौँदेखि प्रयोग गर्दै आएका घरायसी सामग्री, रहनसहन, खानपान तथा मौलिक भेषभूषा अवलोकन गर्न पाउँदा खुसी लागेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली समुदायको सांस्कृतिक विविधता र मौलिक पहिचानलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
पौराणिक सामग्रीदेखि मौलिक झाँकीसम्म
दिवसका अवसरमा नेफिन युएईमा आबद्ध जातीय संघ–संस्थाहरूले आ–आफ्नो समुदायको पहिचान झल्काउने पौराणिक तथा परम्परागत सामग्री प्रदर्शनीमा राखेका थिए।
विभिन्न समुदायले आफ्ना मौलिक भेषभूषामा सजिएर परम्परागत झाँकीसमेत प्रस्तुत गरेका थिए। झाँकी तथा प्रदर्शनीमार्फत सहभागीहरूले आफ्ना पुर्खाले जोगाउँदै आएको संस्कृति, परम्परा र जीवनशैलीलाई नयाँ पुस्तासम्म पुर्याउने सन्देश दिएका थिए।
कार्यक्रममा लामो समयदेखि सम्बन्धित संस्थाको विकास र सामाजिक क्षेत्रमा योगदान पुर्याएका एक महिला र एक पुरुषलाई नेफिन युएईले दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको थियो।
उक्त अवसरमा गत जुलाई १२ तारिख सम्पन नेपाल आदिवासि जनजाति पत्रकार महासंघ, युएई ( फोनिज, युएई ) को तेस्रो अधिवेशन ले सुर्य बहादुर खवास को अध्यक्षतामा २१ जना नयाँ कार्यसमिति को घोषणा तथा सपथ ग्रहण औपचारिक रुपमा निर्वाचन संयोजक बिक्रम लिम्बु, उप संयोजक बुद्धि मेवाहाङ राई र सदस्य कुमार बलामी ले गरेका थिए।
कार्यक्रम संयोजक रोहित स्याङ्बोले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य राखेका थिए। औपचारिक कार्यक्रमको सञ्चालन मनिषा लिम्बु र देव घर्ती भुजेलले गरेका थिए।
त्यस्तै, अनौपचारिक तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन प्रदीप पुन मगर र काजल स्याङ्तान तामाङले गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा युएईमा रहेका विभिन्न नेपाली आदिवासी जनजाति समुदायका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
विभिन्न समुदायका मौलिक संस्कृति, भेषभूषा, खानपान, परम्परागत सामग्री र सांस्कृतिक झाँकी एकै ठाउँमा प्रस्तुत गरिएको दिवस समारोहले ‘विविधतामा एकता र पहिचानको संरक्षण’ को सन्देश दिएको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया