×

व्यवसायी भट्ट, अग्रवाललगायतमाथि मुद्दा दर्ता, २२ अर्ब बिगो कायम

images

काठमाडौँ- दिपक भट्ट, सुलभ अग्रवाललगायतका व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। विशेष सरकारी वकिल कार्यालयले धितोपत्र बजारमा संगठित रुपमा गैरकानुनी चलखेल गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले ३४ व्यक्ति र पाँच कम्पनीमाथि मुद्दा दर्ता भएको जानकारी दिइन्।

मुद्दामा इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्ट, शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल र निर्देशक सुलभ अग्रवाल, लक्की ग्रुपका अमित मोर, ऋषिराज मोर र भृकुटी स्टक ब्रोकिङका सञ्चालक सन्दीप चाचनलगायतलाई प्रतिवादी बनाइएको छ।

यही मुद्दामा पक्राउ परेका प्रतिवादीहरू आशिष श्रेष्ठ, शेखर गोल्छा र सुभाबहादुर श्रेष्ठलगायत हाजिर जमानीमा छुटेका छन्।

प्रतिवादीहरूले नेपाल रि–इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सर्कुलर ट्रेडिङमार्फत कृत्रिम माग र मूल्य सिर्जना गरेको आरोप छ।

हिमालयन रि–इन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको उनीहरूमाथि आरोप लागेको छ। मुद्दामा २२ अर्ब बिगो कायम गरिएको विशेष सरकारी वकिल कार्यालयका प्रवक्ता पुर्णेन्द्र पाण्डेयले जानकारी दिए।

त्यस्तै चार जनामाथि उच्च अदालत पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भएको छ। दीपक भट्ट, शाहिल अग्रवाल, शुलभ अग्रवाल र शंकरलाल अग्रवालमाथि मुद्दा दर्ता भएको हो।
उनीहरूले कर्जा रकम दुरुपयोग गरेको आरोप अभियोगपत्रमा लगाइएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न भट्ट चैत १९ र सुलभ चैत २२ गते पक्राउ परेका थिए।

बिहीबार २८ जेठ २०८३ ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया