काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज कार्यभार सम्हालेका छन् । जेन-जी आन्दोलनपछि गत असोजमा बर्खास्तमा परेका शाक्यलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनर्बहाली गर्न आदेश दिएको थियो ।
सर्वोच्चले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको ठहर गर्दै शाक्यको पक्षमा फैसला गरेपछि उनले आज बिहान १० बजे प्राधिकरण पुगेर कार्यभार सम्हालेका हुन् । उनले नयाँ कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अदालतले पुनर्बहाली गरेसँगै प्राधिकरण फर्किएका शाक्यले ऊर्जामन्त्री घिसिङसँग कसरी काम अगाडि बढ्छ भन्ने चासो रहेको उल्लेख गर्दै भने, ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौँ। मैले ३०-३५ वर्ष काम गरेँ, उहाँले पनि ३० वर्ष जति काम गर्नुभयो। त्यसैले हामीले यो क्षेत्र दुवै जनाले एकै हिसाबले बुझेका छौँ होला जस्तो लाग्छ।’
शाक्यले चिलिमे जलविद्युत् आयोजनाको अनुभव सम्झँदै उनीहरू दुवै जनाले एकै खालका अनुभवहरू भोगेको बताए। उनले भने, ‘चिलिमे बनाउँदाखेरि मैले इलेक्ट्रोमेकानिकल डिजाइन गरेँ। त्यसमा सञ्चालनको थिति मैले बसालेँ।’
चिलिमेले नाफा कमाएर २०६५ सालमा ऋण तिरिसकेपछि मन्त्री घिसिङ त्यहाँ गएको र उनले थप आयोजनाहरू थपेको स्मरण गर्दै शाक्यले भने, ‘चिलिमेलाई सक्षम हामीले बनाएका थियौँ। त्यसैले हामीले चिलिमेको महत्त्व पनि सँगै बुझ्यौँ र त्यसअनुसार निजी क्षेत्र र विद्युत् प्राधिकरणले कम्पनीमार्फत जानुपर्दो रहेछ भन्ने सोचको प्रगति क्रममा हामी दुवै साक्षी छौँ।’
यद्यपि, वर्तमानमा भने आफ्नो सोचमा केही परिवर्तन आएको शाक्यले स्पष्ट पारे। उनी भन्छन्, ‘कम्पनी मात्रै होइन, विद्युत् प्राधिकरणको आफ्नै पनि आयोजनाहरू हुनुपर्छ। परिस्थितिको परिवर्तनले गर्दा प्राधिकरणले आफैँ बनाउनुपर्छ भन्नेमा चाहिँ अहिले मेरो सोच छ।’
शाक्यले धेरै कुरामा मन्त्री घिसिङ र आफ्नो सोच ‘लगभग उस्तै’ रहेको बताए। उनले आफूहरू सँगै बसेर काम गरेको अनुभव सम्झिए । जब घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक थिए, शाक्य एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक थिए। ‘मैले एक जना मान्छे मात्रै एनईए इन्जिनियरिङमा एक्लै गएर, टिम पनि नभएको अवस्थामा काम गरेर एक वर्षमा मैले डेढ सयमा इन्जिनियरसहितको कम्पनी बनाएको थिएँ,’ उनले भने, ‘त्यो काम गर्दाखेरि उहाँकै सहयोग, उहाँको साथ पाएरै मैले काम गर्न सकेको हो।’
प्राधिकरणको कार्यकारी निर्देशक भएकै कारण आफू आक्रमणमा परे पनि त्यसबाट नआत्तिएको उनले बताए । प्राधिकरणमा तीन दशकभन्दा लामो समय आफूले निश्वार्थ सेवा गरेको सम्झँदै उनले भने, ‘म आत्तिएको छैन । प्राधिकरण र देशको सेवामा लागिरहनेछु ।’
अदालतले समयमै मुद्दाको सुनुवाई गरेका कारण आफूले न्याय पाएको उनले बताए । ‘मेरो अघिल्ला कार्यकालमा अदालतले समयमा सुनुवाई नगर्दा अन्यायमा परेको थिएँ । त्यसबेला पनि मैले मेरै पक्षमा फैसला हुनुपर्छ भनेको थिइनँ । समयमै सुनुवाई हुनुपर्यो भनेको थिएँ, तर त्यसबेला करिब ३५ पटक पेसी सर्यो । तर यसपटक समयमै सुनुवाई भयो र मैले न्याय पाएँ,’ उनले भने ।
शाक्यलाई प्राधिकरणबाट जल तथा उर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोजको निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्चले सोमबार खारेज गरिदिएको थियो ।
प्रतिक्रिया