×

नागढुंगा-नौबिसे सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

images

काठमाडौँ । नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आगामी आजदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गर्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुने जनाएका छन्। सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समयभन्दा अगाडी वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछ। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ।

मुग्लिङबाट काठमाडौंतर्फ आउने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछन। साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्।

सीतापाईला भीमढुंगा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिनेछ। रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने छ।


 

बुधबार २५ मंसिर २०८२ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया