मलंगवा (सर्लाही) । राजधानी काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको सडकमा राइडर गणेश नेपालीले आत्मदाह गरेको घटनाको पीडा र आक्रोश सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । सर्लाहीको गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
घटना लगतै गम्भीर घाइते भएका मण्डललाई स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा उद्धार गरी तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । तर, उनको शरीरको ९० प्रतिशत भाग जलिसकेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी काठमाडौँ रिफर गरिएको छ । उनलाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी आकस्मिक उपचार सुरु गर्ने तयारी गरिएको छ ।
घरायसी विवाद र मानसिक स्वास्थ्य समस्या: घटनाको प्रारम्भिक कारण
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेल र मधेस प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनाको विषयमा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।
'आत्मदाह' को संक्रामक लहर र सामाजिक चिन्ता
काठमाडौँमा बिहीबार नगर प्रहरीको ज्यादतीका कारण भन्दै २५ वर्षीय राइडर गणेश नेपालीले आत्मदाह गरेका थिए, जसको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मात्रै मृत्यु भएको थियो । उक्त घटनाले देशव्यापी रूपमा नागरिक र युवापुस्तामा चरम निराशा र आक्रोश पैदा गरिरहेकै बेला, २४ घण्टा नबित्दै सर्लाहीमा अर्को आत्मदाहको प्रयास हुनुले समाजशास्त्री र मनोविदहरूलाई चिन्तित तुल्याएको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आत्मदाहका घटनाहरूको प्रकृति र दृश्यहरू व्यापक रूपमा आउनाले मानसिक रूपमा कमजोर वा दबाबमा रहेका व्यक्तिहरूमा "संसर्ग प्रभाव" (Copycat Effect) देखिन सक्ने खतरा बढेको छ। प्रहरीले घटनाको प्राविधिक तथा अन्य सबै सम्भावित कोणबाट थप गम्भीर अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया