×

वागेश्वरीलाई खुसी पार्न जिब्रो छेड्ने परम्परा

images

बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया निवासी २० वर्षीय सियाराम लोनियाले वागेश्वरी मातालाई खुसी पार्न सातपटक जिब्रो छेडेका छन् । नेपालगञ्जस्थित हिन्दू धर्मावलम्बीहरुको प्रमुख शक्तिपीठ वागेश्वरी मन्दिरमा आज रामनवमी पर्वको अवसरमा लोनियाले सातौँ पटक जिब्रो छेडेका हुन् । वागेश्वरी मातालाई रगत चढाएर खुसी पार्नका लागि जिब्रो छेडेको उनको भनाइ छ ।

वागेश्वरी मन्दिरमा लोनिया जस्तै अन्य भक्तजनले पनि जिब्रो छेडेका छन् । वागेश्वरी मातालाई खुसी पार्न सके सबै मनोकामना पूरा हुने जनविश्वास छ । वागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले रामनवमीको दिन परम्परादेखि नै मधेसी समुदायका व्यक्तिहरुले जिब्रो छेडेर मातालाई रगत चढाउने गरेको बताउनुभयो ।

उहाँका अनुसार पशुको बलिभन्दा आफ्नो जिब्रो छेडेर रगत चढाउने प्रचलन पहिलेदेखि नै चलिआएको थियो । आफ्नो भाकल पूरा भएपछि वागेश्वरी मन्दिरमा चैतेदसँै र बडादसँैको नवमीको दिनमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा चलिआएको छ ।

मेरो यो काम पूरा होस् भनेर भाकल गरेकाहरुको भाकल पूरा भएपछि जिब्रो छेड्ने चलन छ । भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुरामा हुनुपर्छ । अरूलाई हानि हुने खालको भाकल भने पूरा नहुने वागेश्वरी मन्दिरका मूल महन्त योगीको भनाइ छ । उहाँले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको सङ्ख्या घट्दै गएको बताउनुभयो । 

हरेक वर्ष करिब १५० भन्दा बढी भक्तजनले वागेश्वरीमा त्रिशूल आकारको फलामले जिब्रो छेड्ने गरेका छन् । वागेश्वरी मन्दिरमा बाँके खजुरा गाउँपालिका–८ निवासी रामखेलावन अहिरले ५० पटक, डुडुवा–६ हिमिनियाका ६० वर्षीय बर्मन लोनियाले ५० पटक, भारत बाबागञ्जका २७ वर्षीय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेको तथ्याङ्क रहेको छ । वागेश्वरी मन्दिरमा बाँके, बर्दिया दाङ, सुर्खेत र छिमेकी मुलुक भारतबाट पनि भक्तजन दर्शन गर्न आउने गर्दछन् ।

आइतबार​ २७ चैत २०७८ १०:४७ PM मा प्रकाशित

प्रतिक्रिया