×

निर्वाचन प्रणाली महँगाे छ, महिला मात्रै हाेइन पुरुष पनि प्रत्यक्षमा लड्न डराइरहेका छन् : सांसद पहाडी

images

 नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महँगो रहेको बताउनुभएको हो । 

सांसद पहाडीले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्षतर्फ लड्न डराइरहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणाली महँगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको बताउनुभयो । सांसद पहाडीले अहिले सांसदहरूमा प्रत्यक्षभन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गर्नुभयो । उहाँले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जान सकेमात्रै प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन महिला–पुरुष सबै अग्रसर हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो निर्वाचन महँगो छ, भड्किलो छ । महिला मात्रै होइन, पुरुष पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ । किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन । त्यस कारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नका लागि प्रतिस्पर्धा र होडबाजी छ ।’ 

सांसद पहाडीले यो निर्वाचन प्रणालीले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहित गरिरहेको बताउनुभयो ।

मङ्गलबार २४ साउन २०७९ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया