×

बजेट पक्षपातपूर्ण छ , यथास्थितिमा बजेट पास हुन दिँदैनौं : माधव नेपाल

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रस्तुत गरेको बजेट यथास्थितीमा पास हुन नसक्ने बताएका छन्। शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै सत्तापक्षका नेता नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने बताएका हुन्। 

उनले भने, ‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए ।

सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए । ‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन,’ उनले भने । 

राजनीति विकृत हुनुको कारण भ्रष्टाचारले काम गरेको बताउँदै उनले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको पनि बताए । ‘विना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ,’ उनले भने ।

आफूहरुले यसको परिवर्तन गर्न चाहेको उनले बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘असल बन्नसके, भ्रष्टाचारविरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भुटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु विना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।’

उनले बजेटलाई डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रिकृत गरेको आरोप पनि लगाए। डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो भने गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो। यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोटबाट समानुपातिक सांसद हुन्।

नेता नेपालले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो। अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा। यसरी बजेट विनियोजन भएको छ ।

आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन। १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन। अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन।’

शुक्रबार​ २६ जेठ २०८० ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया