×

टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात

images

काठमाडौँ।  हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए ।  भुर्तेलले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन। कप्तान रोहित पौडेलले ३७ रन जोडे ।  उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए। नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो। कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पारे । 

त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएसन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए ।  उनले  ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५४ रन जोडे। शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए ।  कतारका लागि रिफाइ थेरुवाथले छ र जसिम खानले चार रनको योगदान दिए । कतारले अतिरिक्त पाँच रन प्राप्त गर्यो। 

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारे ।  

बुधबार २६ चैत २०८१ ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया