काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् ।
भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडासहित नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया