ई संचार पाटी
काठमाडौँ, २२ असोज । नेपालको प्रशासनिक, सुरक्षा र न्यायिक क्षेत्रको उच्च तहमा बिचौलियाको भूमिका खेल्दै सेटिङ मिलाउने मुख्य योजनाकार इनम सापकोटाविरुद्ध राज्यले आफ्नो कानुनी डण्डा कडा पारेको छ। अमेरिकाको स्थायी बासिन्दा अनुमतिपत्र (पीआर) समेत रहेका विवादित पात्र सापकोटामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा औपचारिक अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा सापकोटाको सम्बन्ध देशका निलम्बित सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देखि लिएर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्म जोडिएको बलियो 'नेक्सस' (सञ्जाल) फेला परेपछि यो प्रकरणले सिंगो राज्य संयन्त्रमा ठुलो तरंग पैदा गरेको छ।
मोबाइल संवादले खोल्यो सेटिङको रहस्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएका झापाका इनम सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। सुरुमा अभद्र व्यवहारको कसुर देखाइए पनि गृह मन्त्रालयको सक्रियतामा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत बेग्लै र गम्भीर अनुसन्धान अघि बढाइएको हो।
सुरक्षा स्रोतका अनुसार हिरासतमा रहेका सापकोटाको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा जाँच गर्दा उच्च तहका पदाधिकारीसँग अर्बौँको लेनदेन र मुद्दा सेटिङका प्रमाणहरू फेला परेका छन्। अनुसन्धानमा संलग्न एक उच्च अधिकृतका अनुसार, "कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई थुनामुक्त गराउन र अनुकूल फैसला गराउन इनम सापकोटाले मध्यस्थकर्ता (बिचौलिया) को रूपमा मुख्य भूमिका खेलेको देखिन्छ।" सापकोटाले दीपक भट्टको परिवार र पूर्वप्रधानन्यायाधीश जबराबीच फोन संवाद गराई सबै ब्रिफिङ गर्ने गरेको प्रमाण मोवाइल कल डिटेल्स र म्यासेजबाट पुष्टि भएको छ।
एआईजी वंशीराज दाहाल निलम्बनमा
इनम सापकोटाको यही मोबाइल नेक्ससकै कारण सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल सोमबार नै पदबाट निलम्बित भइसकेका छन्। दाहालमाथि पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गर्न लागिएको अति संवेदनशील र 'गोप्य' सुरक्षा सूचना बिचौलिया सापकोटालाई चुहाएको र पदीय आचरण विपरीत कार्य गरेको गम्भीर आरोप छ। दाहालमाथि छानबिन गर्न सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा विशेष समिति गठन गरिएको छ र उनलाई बर्खास्त गर्नेसम्मको तयारी भइरहेको बुझिएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र र निकटस्थको घरमा 'सम्पत्ति शुद्धीकरण'को छापा
बिचौलिया सापकोटाको बयान र प्राविधिक प्रमाणका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनीसँग जोडिएका गिरोहमाथि फराकिलो घेरा हालेको छ। सोही क्रममा विभागको टोलीले जबराका भाइ प्रभुशमशेर जबरासहित निकटका सहयोगीहरूको घरमा बुधबार एकैसाथ छापा मारी महत्त्वपूर्ण कागजात र विद्युतीय उपकरणहरू कब्जामा लिएको छ।
छापा मारिएका अन्य प्रमुख व्यक्तिहरूमा:
बैंक खाता र सम्पत्ति रोक्का हुँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको प्रत्यक्ष निर्देशनमा अगाडि बढेको यस अनुसन्धानमा पूर्वप्रधानन्यायाधीश जबरा र इनम सापकोटाको सञ्जालमा रहेका सबै व्यक्तिको बैंक खाता र सम्पत्ति रोक्का राख्नका लागि पत्राचारको तयारी भइरहेको छ। सरकारका प्रवक्ताले चोलेन्द्र र उनीसम्बद्ध बिचौलियाहरूको घरमा भएको छापालाई 'राज्यको नियमित सुशासनको काम' भन्दै भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
न्यायालय, प्रहरी प्रशासन र राजनीतिक नेतृत्वलाई समेत आफ्नो इसारामा नचाउने यो संगठित गिरोहको पर्दाफास भएसँगै सम्पत्ति शुद्धीकरण विभागले इनम सापकोटाको बैंक खातामा विदेशबाट आएको शंकास्पद रकमको स्रोत खोज्न अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग समेत समन्वय गरिरहेको बुझिएको छ।
प्रतिक्रिया