×

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई सात वर्ष जेल सजाय

images

राउटे युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ सुर्खेतका चौमनबहादुर घर्ती र भुपेन्द्र बुढामगरलाई सात/सात वर्ष जेल सजाय र जनही रु दुई लाख जरिवाना तोकेको हो । 

अदालतले यौनदुव्र्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना जेल सजाय र रु एक लाख जरिवाना तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सात/सात वर्ष जेल सजाय पाएका घर्तीमगर र बुढामगरले पीडित राहत कोषमा जनही रु आठ हजार र होटल सञ्चालक पुनले रु चार हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ । 

बोटेचौरको शुभकामना होटलमा विसं २०७८ जेठ २१ गते राति ९ः०० बजे राउटे युवतीमाथि यौनहिंसा गरेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने घर्ती, मिलन भनिने पुन र भूपेन्द्र बुढा मगरलाई जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । घर्ती तथा बुढा मगरले राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएपश्चात् उनीहरू पक्राउ परेका थिए । 

अदालतले असार १६ गते पुर्पक्षका लागि तीनैलाई जेल चलान गरेको थियो । उक्त समयमा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ सुर्खेत आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए । 

शुक्रबार​ २४ असार २०७९ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया