×

सत्ता गठबन्धन दलको बैठक बस्दै, प्रदेश सरकारको भागबण्डा टुङ्ग्याउने तयारी

images

काठमाडौँ ।  सत्तारुढ दलको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वास मत लिँदै छन्। विभिन्न प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय पनि यही साता सकिँदैछ।

प्रदेश १ मा त सरकारमा दाबी गर्ने समय आइतबार साँझ सकिँदैछ। प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ। कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।

मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् । आफूले विश्वासको मत लिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउनुपर्ने दबावमा प्रधानमन्त्री प्रचण्ड छन् ।

आइतबार​ २४ पुस २०७९ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया