×

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह विरुद्ध सम्पत्ति शुद्धीकरण विभागद्वारा पुर्जी जारी, ७ दिनभित्र उपस्थित हुन अल्टिमेटम

images

 काठमाडौं, २३ असार (२०८३) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले औपचारिक रूपमा पुर्जी जारी गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा बयानका लागि बुझ्न विभागले उनीविरुद्ध म्याद जारी गरेको हो।

सोमबार (असार २२ गते) बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद (पुर्जी) टाँसिएको थियो भने मंगलबार राष्ट्रिय दैनिक गोरखापत्रमा समेत यससम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

विभागले जारी गरेको सूचना अनुसार जयवीर सिंह देउवालाई बाटोको म्याद बाहेक ७ दिनभित्र विभागको कार्यालयमा उपस्थित भई बयान दिन निर्देशन दिइएको छ। तोकिएको समयावधिभित्र उपस्थित नभए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत पुर्जीमा दिइएको छ।

जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता, पासपोर्ट खरिद प्रकरण तथा विगत केही वर्षमा बिना कुनै स्पष्ट आम्दानीको स्रोत अर्बौँ मूल्य बराबरको जग्गा खरिद गरेको विषयमा उजुरी परेका थिए। सोही आधारमा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेका छन्।

विगत केही महिनादेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उच्च राजनीतिक नेतृत्वमाथि अनुसन्धान तीव्र बनाएको छ। सन् २०२५ सेप्टेम्बरमा भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा नेताहरूका घरमा भएको आगजनी र तोडफोडपछि भेटिएका जलेका बैंक नोटका टुक्राहरूको फरेन्सिक रिपोर्ट सकारात्मक आएसँगै अनुसन्धानले नयाँ मोड लिएको थियो।

यसअघि अनुसन्धानका लागि विदेशमा रहेका देउवा दम्पतीलाई नेपाल झिकाउन विभागले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत 'रेड कर्नर नोटिस' जारी गर्ने प्रयास गरे पनि इन्टरपोलले त्यसलाई अस्वीकार गरेको थियो। ई-पासपोर्ट खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आरजु राणा देउवाका नाममा म्याद तामेल गरेको थियो। तर, उनले आफू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत गराएकी छिन्। अध्यागमन रेकर्ड अनुसार जयवीर सिंह देउवा पनि लामो समयदेखि नेपाल बाहिर (हाल हङकङ वा थाइल्यान्डमा रहेको अनुमान) रहँदै आएका छन्।

राज्यका उच्च पदस्थ व्यक्ति र तिनका परिवारमाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको मुद्दामा कानुन कडा रूपमा प्रस्तुत भइरहँदा देउवा परिवारका सदस्यविरुद्ध काटिएको यो पुर्जीलाई निकै चासोका साथ हेरिएको छ।

मङ्गलबार २३ असार २०८३ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया