×

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक,१८ पदमा ४४ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

images

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली सार्वजनिक हुनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

राजनीतिक दलहरूबीचको तालमेलअनुसार निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका रूपमा सहभागी भएका छन् । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशबाट तीन सिटमा उम्मेदवारी दिएको छ भने एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ । 

उक्त निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । 


सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।


बुधबार २३ पुस २०८२ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया