काठमाडौँ । अविरल वर्षा र बाढी-पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सुरु गरेको छ।
पृथ्वी राजमार्गको कृष्णभिर खण्ड भत्किएपछि निगमले त्रिभुवन राजपथ (बाइरोड) मार्फत इन्धन बोकेका ट्याङ्कर र ग्यास बुलेटहरू काठमाडौँ भित्र्याउन थालेको हो। निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर ग्यास उपत्यकामा भित्र्याइएको छ।
यसैबिच, भोटेकोशी नदीको बाढीका कारण प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका क्षेत्रमा सञ्चालित खोज तथा उद्धार कार्यका लागि पनि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।
उद्धारमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन वितरण भइसकेको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा प्रभावित क्षेत्रका अस्थायी सेल्टरहरूका लागि ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।
प्रतिक्रिया