×

काँग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन-सभापति थापा

images

कास्की। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह गरेका छन्।

कास्कीको पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हालेमात्र देश बन्ने दाबीसहित अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन्।

उनले यो सम्भव भएको दाबीसहित भने, ‘मैले साथीहरूलाई भनेको छु मधेसका जाँदै गर्दा अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस् नारै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस्।’ उनले अगाडि भने, ‘त्यहाँ पुर्याउने हो यसपालि। मज्जाले जाने हो। सकिन्छ पुग्न। मज्जाले सकिन्छ। बहुमतसम्म पुग्न सकिन्छ।’

सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्ने बताए। उनले भने, ‘मेहनत गर्नुपर्नेछ। पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मेहनत गरौँ त एकपटक। १० लाख क्रियाशील भएको पार्टी हो यो। वडा वडा टोल टोलमा संगठन गर्ने पार्टी हो यो।’

उनले अन्तिममा फेरि आग्रह गर्दै भने, ‘हामी आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ बुझौँ। तल्लो तहसम्म जाऔँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि हामी व्यवस्थालाई सुधार्छौँ पनि। हामी बदलिएर आएका छौँ। बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि। यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ।’ 

उनले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे । विगतको निर्वाचनमा कांग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने उनले बताए ।

सभापति थापाले जेन-जी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताए। उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताए।

साथै, निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि उनले बताए । उनले भने, ‘आजको दिनको हाम्रो सन्देश मात्रै ठिक ढंगले घरघरमा पु्र्याउनसक्ने हो भने नेपाली काँग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन । भइसक्यो भन्ने हैन । यो तपाईं र ममा भर पर्छ । तल मतदाता छन् । ती मतदाता आजको दिनमा के सोचिरहेका छन् ।’

गएको निर्वाचनमा २७ लाख मतदाताले कांग्रेसलाई भोट हालेको स्मरण गर्दै उनले पुनः मतदातासमक्ष एकपटक जानुपर्ने पनि उनले बताए । उनले भने, ‘२७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा । ती मतदातासँग आज गएर एकचोटि गएर बुझाउँदाखेरी पुग्छ । कम्तिमा ४,५ लाख मतदाताले अघिल्लो पटक काँग्रेसलाई मत हाल्छु भन्ने ठानेको तर हाम्रा केही निर्णयसँग चित्त नबुझाएर मत नहालेको हो । ती सबैलाई हामीले भेटेर सम्झाउनुपर्ने छ । नवपुस्तासँग पनि हामीले भेट्नुपर्ने छ । सबैजनाले उम्मेदवारजस्तै खटिएर हाम्रो सन्देश पुर्याउँदै गर्दा यो निर्वाचनमा सबैभन्दा सानदार परिणाम ल्याउने कुरामा हामीलाई कसैले रोक्न सक्दैन ।’

शुक्रबार​ २४ माघ २०८२ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया