×

एपीएफ स्कुलमा १० करोड बढी घोटाला: कल्याण महाशाखामा पठाउनुपर्ने रकम साथीको खातामा, इन्स्पेक्टरसहित दुई पक्राउ

images

काठमाडौँ । सशस्त्र प्रहरी बल (APF) ले कीर्तिपुरमा सञ्चालन गरेको नेपाल एपीएफ स्कुलमा १० करोड रुपैयाँभन्दा बढीको वित्तीय घोटाला भएको खुलासा भएको छ। स्कुलको बैंक खातामा हुनुपर्ने र सशस्त्र प्रहरीको कल्याण महाशाखामा दाखिला हुनुपर्ने करोडौँ रकम व्यक्तिगत र गैर-सम्बन्धित व्यक्तिको खातामा पठाएर हिनामिना गरेको आरोपमा प्रहरीले स्कुलकी लेखा प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ र उनका साथी लिलाबहादुर लामालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, सशस्त्र प्रहरी हेडक्वार्टरले स्कुलमा ठुलो आर्थिक हिनामिना भएको भन्दै आन्तरिक अनुसन्धानपछि कारबाहीका लागि पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्रहरी टोलीले इन्स्पेक्टर गुरुङ र उनका साथी लामालाई शनिबार पक्राउ गरी हिरासतमा लिएको हो।

प्रारम्भिक छानबिनका क्रममा आर्थिक वर्ष २०८२/८३ को मात्रै करिब १० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ। स्कुलको आम्दानी र कल्याण महाशाखाको खातामा दाखिला हुनुपर्ने रकम इन्स्पेक्टर गुरुङले योजनाबद्ध रूपमा आफ्ना साथी लिलाबहादुर लामाको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विगतका वर्षहरूमा यो स्कुल कल्याण महाशाखा मातहत नरही आफैँ स्वायत्त रूपमा सञ्चालन हुँदै आएको थियो र यसको आम्दानी-खर्च पनि स्कुल आफैँले बेहोर्थ्यो। तर, राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) भएपछि विद्यालयका गतिविधि पारदर्शी बनाउन यसलाई कल्याण महाशाखा मातहत राख्ने निर्णय गरिएको थाहा भएको छ।

महाशाखा मातहत आएपछि स्कुल सञ्चालनका लागि प्रत्येक चार महिनामा अग्रिम बजेट उपलब्ध गराइँदै आएको थियो। आर्थिक वर्ष समाप्त हुन लाग्दा महाशाखाले स्कुलको हिसाबकिताब र लेखापरीक्षण (अडिट) माग गरेको थियो। महाशाखाले पटक-पटक ताकेता गर्दा पनि लेखा शाखाले हिसाब देखाउन नसकेपछि शङ्का लागेर हेडक्वार्टरले आन्तरिक छानबिन समिति गठन गरेको थियो। छानबिनका क्रममा करोडौँ रकम गायब भएको र साथीको खातामा पठाइएको पुष्टि भएपछि स्कुलको बजेट नै रोकेर थप कानुनी कारबाही अघि बढाइएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्की  भन्छन

"नेपाल एपीएफ स्कुलको बैंक खातामा रहनुपर्ने रकम गैर-सम्बन्धित व्यक्ति र व्यक्तिगत खातामा ट्रान्सफर गरी चरम दुरुपयोग भएको उजुरी परेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले कानुनी निर्देशनालयका डीआईजी युवराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय आन्तरिक छानबिन समिति गठन गरेको थियो। छानबिनका क्रममा विद्यालयको आन्तरिक लेखापरीक्षण र सञ्चालन कोषमा ठुलो रकम हिनामिना भएको यकिन तथ्य फेला परेको छ। सङ्गठनभित्र आर्थिक भ्रष्टाचार र अनुशासनहीनतामा 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति छ। आन्तरिक छानबिनमा गम्भीर कैफियत र फौजदारी कसुर देखिएपछि थप कानुनी कारबाही र मुद्दा चलाउनका लागि मुख्यालयकै सिफारिस र पत्राचारमा नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो।" 

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको जिल्ला प्रहरी परिसर काठमाडौँले यस घोटालामा अन्य पदाधिकारी वा कर्मचारीको संलग्नता छ कि छैन भन्नेबारे सूक्ष्म अनुसन्धान गरिरहेका छन्। सरकारी र कल्याणकारी कोषको रकम यसरी व्यक्तिगत खातामा डाइभर्ट गरेर दुरुपयोग गरिएको घटना सार्वजनिक भएपछि सुरक्षा सङ्गठनभित्र तीव्र खलबल मच्चिएको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि बैंकिङ कसुर तथा आर्थिक हिनामिनाको मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

आइतबार​ २१ असार २०८३ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया