काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) आजदेखि प्रतिपक्षीको बेन्चमा बस्ने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति चिढिएको हो।
बिहीबार साँझ बसेको बैठकले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो। प्रतिनिधिसभासहित सबै प्रदेश सभामा आफूहरू सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएर प्रतिपक्षको कित्तामा बस्ने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। मन्त्री हटाउनुअघि आफूहरुसँग कुनै छलफल नगरेकाले कांग्रेस सम्बद्ध गठबन्धन र सरकारमा रहिरहन उपयुक्त नहुने उनको भनाइ छ।
संघीय सरकारमा उन्मुक्तिबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन्। ५३ सदस्यीय सुदूरपश्चिममा भने सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेस र एमालेसँग २९ जनाको समर्थन कायम रहेकाले सरकार तलमाथि हुने छैन। तर संघीय र प्रदेश सरकारमा मन्त्री लिएको दलले समर्थन फिर्ता लिएकाले संविधानको धारा १०० अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र धारा १८८ अनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।
पावर टिलर वितरणमा अनियमितता देखिएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन भनेका थिए। उनीमाथि खप्तड क्षेत्र पर्यटन विकास समितिको पदाधिकारी नियुक्तिमा पनि चलखेल गरेको आरोप लागेको छ। मन्त्री चौधरीले राजीनामा नदिएपछि बिहीबार मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा नाउपाका मन्त्री एकपछि अर्को गरी विवादमा परिरहेका छन्। यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउँदा आर्थिक चलखेल गरेको आरोप लागेपछि राजीनामा दिएका थिए। उनीपछि मन्त्री बन्न आइपुगेका रामेश्वर चौधरी पनि आर्थिक चलखेलमा मुछिएपछि पद गुमाउन पुगे।
प्रतिक्रिया