×

यस्तो छ आजको देशभरको मौसम

images

काठमाडौं। मुलुकको पश्चिमी भूभागको उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदलिने भएको छ। यसका कारण हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने तथा तराईका केही भूभागमा गर्मी अझै बढ्ने सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहेको छ।

बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहँदा तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा छ। यतिबेला कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका सीमित स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसोको मौसम

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। यसैगरी हिमाली तथा पहाडी भागका केही स्थानहरूका साथै मधेस र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका बीच मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम थप बढ्ने अनुमान गरिएको छ।

रातिको मौसम

आज राति देशका हिमाली भेगमा साधारणतया बदली कायमै रहनेछ। पहाडी भूभागका साथै मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुने देखिन्छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र मधेस प्रदेशसहित बागमतीको हिमाली तथा पहाडी भाग र गण्डकी तथा कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको आकलन गरिएको छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाको सतर्कता अपिल

मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने क्रम जारी रहने भएकाले गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, मौसममा आउने उतारचढावप्रति सचेत रहँदै पछिल्ला सूचनाहरूमा अद्यावधिक रहन सम्बद्ध सबैमा अनुरोध गरिएको छ।

बिहीबार २१ जेठ २०८३ ०६:४० AM मा प्रकाशित

प्रतिक्रिया