×

निर्वाचन स्वच्छ र धाँधलीरहित भए नेकपाले राम्रो नतिजा ल्याउछ -प्रचण्ड

images

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुई चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचन फागुन २१ मै हुने बताउँदै एकै चरणमा गर्न पनि सुझाव दिए ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस्। चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो। यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’

उनले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताए । उनले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गरे ।

उनले भने, ‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन । यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ । त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ । अझैपनि कतिपय मान्छेहरुले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो । हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् । म तपाईलाई भन्न चाहन्छु । चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहान्छु भने दुई चरण भनेर नगरियोस् चुनाव एकै चरणमा होस् । चुनाव निष्पक्ष रुपमा हुने वातावरणको ग्यारेन्टी गरियोस् ।’

उनले केही मान्छेहरूले अझै चुनाव हुन्छ कि हुँदैन भन्ने आशङ्का राखिरहेको भन्दै निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताए। उनले निर्वाचन स्वच्छ र धाँधलीरहित भए नेकपाले राम्रो नतिजा ल्याउने बताए।

बुधबार २२ माघ २०८२ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया