×

कांग्रेस १५औँ महाधिवेशन: लुम्बिनीका पूर्वमन्त्री एवं युवा नेता न्यौपानेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

images

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेस लुम्बिनी प्रदेशको प्रवक्ताको जिम्मेवारी समेत वहन गरिसकेका युवा नेता न्यौपानेले शनिबार काठमाडौँमा आफ्नो उम्मेदवारीबारे औपचारिक जानकारी दिएका हुन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता न्यौपानेले भने, “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारका रूपमा आफूलाई उभ्याउने निर्णय लिएको छु। कांग्रेसलाई प्रविधिमैत्री, जनमुखी र एकताबद्ध बलियो संगठनका रूपमा स्थापित गर्ने प्रमुख एजेन्डा मेरो रहनेछ।”

नेविसंघदेखि प्रदेश मन्त्रीसम्मको राजनीतिक यात्रा

विद्यार्थी राजनीतिबाट स्थापित भएका न्यौपाने नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय सहमहामन्त्री हुन्। कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले नेविसंघको केन्द्रीय सभापति भुमिका सम्हाल्दा न्यौपानेले सहमहामन्त्रीका रूपमा संगठनमा कुशल कार्यसम्पादन गरेका थिए।

नेविसंघको केन्द्रीय पदाधिकारीको जिम्मेवारी पूरा गरेपछि उनी पार्टीको १४औँ महाधिवेशनमा कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यका रूपमा भारी मतका साथ निर्वाचित भएका थिए। पछि उनलाई लुम्बिनी कांग्रेसको प्रवक्ताको महत्त्वपूर्ण जिम्मेवारी समेत दिइएको थियो।

गत प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित भएसँगै उनको संसदीय यात्रा सुरु भएको हो। प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने २०८१ सालमा लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्री बनेका थिए। उनले उक्त मन्त्रालयको नेतृत्व दुई वर्षसम्म सफलतापूर्वक सम्हालेका थिए।

पुस्तान्तरण र युवा नेतृत्वमा जोड
कांग्रेसको केन्द्रीय सदस्यको आकांक्षीका रूपमा आफूलाई बलियो गरी उभ्याएका न्यौपाने पार्टीभित्र विचार र नेतृत्व दुवैमा पुस्तान्तरणको अपरिहार्यतालाई जोड दिँदै आएका प्रखर युवा नेता हुन्। अग्रजहरूको अनुभवको सम्मान गर्दै पार्टीका हरेक तह र तप्कामा युवाहरूको सम्मानजनक, अर्थपूर्ण र नीतिगत सहभागिता रहनुपर्ने अडान उनी राख्छन्।

आगामी असोज १९ गते सोमबार हुने केन्द्रीय कार्यसमितिको उम्मेदवारी मनोनयन दर्ताका लागि उनले आफ्नो समूह र महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाट तथा आन्तरिक गृहकार्यलाई तीव्र पारेका छन्।

शनिबार १७ असोज २०८३ ०९:५८ PM मा प्रकाशित

प्रतिक्रिया