×

कांग्रेस १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा, भोलि खुलामञ्चमा भव्य उद्घाटन हुँदै

images

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। शनिबार पार्टीका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले पत्रकार सम्मेलन आयोजना गरी महाधिवेशनका सम्पूर्ण प्राविधिक, व्यवस्थापकीय र राजनीतिक तयारीहरू सम्पन्न भइसकेको आधिकारिक जानकारी दिएका हुन् ।

'नयाँ कांग्रेस, नयाँ संकल्प' को मूल नाराका साथ सुरु हुन लागेको यस महाधिवेशनको भव्य उद्घाटन भोलि असोज १८ गते आइतबार काठमाडौँको ऐतिहासिक खुलामञ्च (टुँडिखेल) मा हुनेछ। वि.सं. २००२ सालको दोस्रो विशेष महाधिवेशनपछि पहिलो पटक कांग्रेसले यो ऐतिहासिक स्थानमा आफ्नो महाधिवेशन गर्न लागेको प्रवक्ता चालिसेले बताए । उद्घाटन सत्रमा देशभरबाट ५० हजारभन्दा बढी युवा तथा कार्यकर्ता र विदेशस्थित जनसम्पर्क समितिसहित ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदैछन्।

उद्घाटन सत्र समापन भएलगत्तै असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टी सभापतिले आगामी ५ वर्षका लागि राजनीतिक, आर्थिक, रोजगारी र परराष्ट्र नीति समेटिएको कार्यपत्र पेस गर्नेछन् भने उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ-आफ्नो प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसपटक बन्दसत्रलाई प्रविधिमैत्री बनाउँदै भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूह विभाजन गरी तीनवटा फरक-फरक हलमा डिजिटल बोर्डमार्फत प्रतिवेदनमाथि छलफल गराइनेछ ।

हालैको प्राकृतिक विपद् र देशको परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन समितिले यसपटकको चुनाव प्रचारप्रसारलाई तडकभडकविहीन र अनुशासित बनाउन कडा नियम लागू गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन स्थल र वरपरका सार्वजनिक सडकहरूमा कुनै पनि उम्मेदवारले फ्लेक्स, ब्यानर, पोस्टर वा पम्पलेट टाँस्न र वितरण गर्न पाउने छैनन् । उम्मेदवारहरूले आफ्नो एजेन्डा केवल सामाजिक सञ्जाल र अनलाइन मिडिया जस्ता डिजिटल माध्यमबाट मात्र प्रचार गर्नुपर्नेछ ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले आगामी असोज १९ गते सोमबार दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म काठमाडौँको राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयन दर्ताको समय निर्धारण गरेको छ। मनोनयन दर्ता हुनुअघि नै विधान संशोधन मस्यौदा समितिले तयार पारेको पदाधिकारी थपसम्बन्धी प्रस्तावलाई महाधिवेशनको हलबाट पारित गराइने तयारी छ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि असोज २१ र २२ गते (बुधबार र बिहीबार) नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु हुनेछ।

सचिवालयका अनुसार सानेपास्थित पार्टी कार्यालयमा ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाएर प्रतिनिधिहरूको दर्ता कार्य धमाधम चलिरहेको छ । प्रतिनिधिहरूको आवाससम्बन्धी जानकारी सहज बनाउन यसपटक ह्वाट्सएप (WhatsApp), एआई नम्बर र एसएमएस (SMS) प्रविधिको प्रयोग गरिएको छ। महाधिवेशन अवधिभर ट्राफिक व्यवस्थापनका लागि भृकुटीमण्डप र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको र माइतीघर-भद्रकाली सडकखण्डको एक लेन ठूला बसका लागि छुट्याइएको छ ।

शनिबार १७ असोज २०८३ ०७:०४ PM मा प्रकाशित

प्रतिक्रिया