×

गगनको निम्तो बोकेर देउवा निवास पुगे सहमहामन्त्री, भेट नभएपछि सुरक्षाकर्मीलाई बुझाइयो महाधिवेशनको पत्र

images

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसभित्रको बढ्दो आन्तरिक राजनीतिक धु्रवीकरण र समानान्तर गतिविधिका बीच सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशनको प्रमुख अतिथि बन्न औपचारिक निमन्त्रणा पठाएका छन् । भोलि असोज १८ गते आइतबार काठमाडौँको ऐतिहासिक खुलामञ्चमा हुन लागेको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहको प्रमुख आतिथ्यता गरिदिन सभापति थापाले देउवालाई पत्र पठाएका हुन् ।

images

कांग्रेस महाधिवेशन अपडेट: सानेपामा प्रतिनिधि दर्ता धमाधम, प्रतिनिधिले पाए विधानसहितको विशेष झोला

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएक...

पार्टीभित्रको तिक्तता अन्त्य गरी एकताको सन्देश दिनका लागि देउवाबाटै महाधिवेशनको उद्घाटन गराउने योजनासहित सभापति थापाको हस्ताक्षर रहेको निमन्त्रणा पत्र शनिबार साँझ देउवा निवास चुनदेवी पुर्‍याइएको थियो ।

images

कांग्रेसमा दोहोरो पदको अन्त्य: केन्द्रमा उम्मेदवार बन्ने नेता प्रदेश र जिल्लाको नेतृत्वबाट वञ्चित हुने

१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनसम्बन्धी वैधानिक व्यवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय महा...

निमन्त्रणा पत्र बुझाउन सभापति थापाले पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी सम्मिलित टोलीलाई देउवा निवास पठाएका थिए । तर, चुनदेवी पुगेको कांग्रेस टोलीले पूर्वसभापति देउवासँग प्रत्यक्ष भेट गर्न भने पाएन। देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी भएपछि टोली निवास पुगे पनि साँझ ६ बजेसम्म उनीहरू बाहिर निस्किसकेका कारण भेट हुन नसकेको सहमहामन्त्री चौधरीले जानकारी दिए।

स्वकीय सचिव र नेता देउवासँग सम्पर्क हुन नसकेपछि टोलीले प्रमुख अतिथिको उक्त निमन्त्रणा पत्र देउवा निवासको गेटमा खटिएका सुरक्षाकर्मीलाई बुझाएर फर्किएको छ। "हामीले पार्टी सभापतिको तर्फबाट औपचारिक पत्र पुर्‍याएर फर्कियौँ, तर उहाँ (देउवा) सँग साक्षात्कार हुन पाएन," सहमहामन्त्री चौधरीले बताए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि आइतबार भव्य रूपमा उद्घाटन हुँदै गर्दा पूर्वसभापति देउवा पक्षले भने यसअघि नै आफ्ना समानान्तर गतिविधिहरू अघि बढाइरहेको थियो र यो महाधिवेशन प्रक्रियामा उनीहरू सहभागी नहुने चर्चा चल्दै आएको थियो । पार्टी विधानले देउवालाई पुनः सभापति उठ्न नदिने भएपछि संस्थापन पक्षले महाधिवेशन अघि बढाए पनि देउवा, शेखर कोइराला र पूर्णबहादुर खड्का लगायतका वरिष्ठ नेताहरू महाधिवेशन प्रक्रियाबाट बाहिरै रहँदै आएका छन् ।

प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा सकभर देउवाबाटै महाधिवेशन उद्घाटन गराउने प्रयास भइरहेको र उनी नआएमा परम्पराअनुसार सभापति गगन थापा आफैँले उद्घाटन गर्ने बताएका छन् । गगन थापाले औपचारिक रूपमा प्रमुख अतिथिको निम्तो पठाएर एकताको हात बढाए पनि देउवा भोलिको उद्घाटन समारोहमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने विषयले नेपाली राजनीतिमा ठूलो चासो जगाएको छ ।

शनिबार १७ असोज २०८३ १०:२२ PM मा प्रकाशित

प्रतिक्रिया