काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत माग्दै पत्र पठाएका छन् । अबको ६ दिनपछि अर्थात् २५ फागुनमा नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदै छ ।
पौडेलको प्रतिस्पर्धा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङसँग हुनेछ । पौडेलले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३२ तथा प्रदेशसभाका ५ सय ५० सांसदलाई पत्राचार गर्दै राष्ट्रपति पदमा आफूलाई मत दिन आग्रह गरेका हुन् । पौडेलले आफ्नो लेटरप्याडमा सबै सांसदहरूलाई सम्बोधन गरी पत्र लेखेर राष्ट्रपति निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको उनका प्रेस सहयोगी खिला कार्कीले जानकारी दिए ।
‘संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदलाई राष्ट्रपतिका उम्मेदवार पौडेलले पत्राचार गर्नुभएको छ, पत्रमा उहाँले आफूलाई मत दिन सांसदहरूसँग आग्रह गर्नुभएको छ,’ पौडेलका प्रेस सहयोगी कार्कीले भने । पत्रमा उनले आफूले नेपालका सबै मानिसको नैसर्गिक अधिकारका लागि संघर्ष गरेको तथा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध ३० वर्ष संघर्ष गर्दा आधा समय जेलमा बिताएको उल्लेख गरेका छन् ।
पौडेलले सांसदलाई पठाएको पत्रमा सत्तामा हुँदा आफू कहीँकतै नचुकेको पनि जिकिर गरेका छन् । ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि संघर्षको बेडा उठाउँदै आएँ, फलतः निर्दलीय निरंकुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ, बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनमा पनि कहीँकतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताका लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोशिस गर्दै आएको छु,’ आठ दलीय गठबन्धनका तर्फबाट राष्टपतिको उम्मेदवार बनेका पौडेलले सांसदलाई पठाएको पत्रमा भनिएको छ । राजधानी दैनिकबाट
प्रतिक्रिया