काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।
जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। साथै,तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ।
आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा हुस्सु रहनेछ।
प्रतिक्रिया