×

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

images

काठमाडौँ । अफगानिस्तानमा आइतबार राति आएको ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अहिलेसम्म १४११ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मुजाहिदका अनुसार भूकम्पको असर कुनार प्रान्तको नुरगल, सोका, जबा दरह, बिश दरह, ताबोर र असदाबाद क्षेत्रमा धेरै रहेको छ । भूकम्पबाट अहिलेसम्म ३ हजार १२४ जना घाइते भएका छन् भने ५ हजार ४१२ घर भत्किएको उनले जानकारी दिएका छन् ।

भूकम्पपछि अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ । रोयटर्ससँग कुरा गर्दै तालिबान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने- 'हामीलाई सहयोग चाहिन्छ । भूकम्पका कारण धेरै मानिसहरूले ज्यान गुमाएका छन्, धेरै घरहरू ध्वस्त भएका छन् । यो विनाशले अफगानिस्तानको समस्यालाई अझ बढाएको छ । यहाँ पहिले नै विदेशी सहायता उपलब्ध छैन, जसका कारण देशमा आर्थिक संकट झन् बढेको छ ।'

यसैबीच भारतले सहयोगको लागि काबुलमा १००० पाल पठाएको छ भने काबुलबाट कुनारमा १५ टन खाद्यान्न पठाइएको विदेश मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै विश्वका कैयौं देशले अफगानिस्तानलाई सहयोगको हात अगाडी बढाएका छन् । 

२०२१ मा तालिबान सरकार गठन भएपछि, अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा मानवीय सहायता रोकेका थिए ।

मङ्गलबार १७ भदौ २०८२ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया