काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र राष्ट्रपतिसँगको छलफलका आधारमा विषम परिस्थितिमा आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताएकी छिन् ।
साथै प्रधानमन्त्री कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन् । पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे स्पष्ट पारेकी हुन् ।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् । प्रधानमन्त्रीका अनुसार, उनीहरूले मन्त्री बन्नुअघि नै राजनीतिमा लाग्ने बताएका थिए । सोही अनुसार, आफूले बिदा गरेर पठाएको उनको भनाइ छ । ‘नजानेहरू बसे, हामीलाई थाहा छ यसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन । आए गए । अहिले सम्पर्क छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूले मात्रै चिया खाएर काम गरेका छन् ।’
साथै, उनीहरूलाई दोष नलगाउन पनि प्रधानमन्त्री कार्कीको आग्रह थियो । उनले थप प्रष्ट पार्दै भनिन्, ‘खासमा दोष लगाउने हो भने मलाई लगाउनुस्, उनीहरूलाई नलाउनुस् । किनभने मैले त्यतिखेर सरकार बनाउनैका लागि पनि भनेको थिएँ, जुन दिन तपाईंहरू जाने हो त्यो दिन बिदाइ गर्छु । तपाईंहरू जानुस् भनेको पनि हो । मलाई लाग्दैन कि उनीहरूले बेइमानी गरे भन्नु बेकार छ ।’
उनीहरूलाई त्यतिबेला मन्त्री बनाउन जेनजीहरूको ठूलो प्रेसर रहेको उनले बताइन् । ‘उनीहरूको आफ्नो जीवन हो, उनीहरूको उमेर छ, उनीहरूको आफ्नो संस्कार छ । त्यसकारण मैले आज खुलाएँ कि मैले नै वचन दिएँ । जेनजीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भने । आजसम्म उनीहरूको कुनै सम्पर्क मन्त्रिपरिषद्सँग छैन,’ प्रधानमन्त्री कार्कीको प्रष्टोक्ति छ ।
आफूले हातै जोडेर उनीहरूलाई सरकारमा ल्याएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । बब्लु गुप्तालाई पनि सरकारमा ल्याउनका लागि जेनजीले दबाब दिएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । 'पुनलाई अंगालो हालेर सुधन गुरुङले किताब बेच्दाबेच्दै सडकबाट ल्याएर आयो,' प्रधानमन्त्री कार्कीले भनिन् ।
सरकारमा सहभागी गराउने बेला नै कुलमान घिसिङलगायतलाई चुनावमा जान दिने भनेकी पनि प्रधानमन्त्रीले स्मरण गरिन् । जेनजीको प्रेसर छ भनेर आफूले नै उनीहरूलाई मन्त्री हुन आग्रह गरेको पनि प्रधानमन्त्री कार्कीले बताइन्।
‘मैले नै उहाँहरूलाई हात जोडेर जेनजीको प्रेसर छ, जतिदिन बस्नुहुन्छ बसिदिनुस् भनेर मन्त्रीमा ल्याएको हो। त्यसमा बब्लु गुप्ता भन्ने पनि जेनजीबाटै नाम आएको हो। यिनीहरू लोकप्रिय मानिस हुन् र राजनीतिमा जान्छन् भन्ने हामीलाई थाहा थियो,’ उनले भनिन्, ‘सरकारमा बसिबसि कोही चुनाव लड्छ भने बेइमानी हुन्छ। जुन दिन राजनीतिमा जान्छौं त्यो दिन राजीनामा दिएर जाऊ, हामी विदाइ गरिदिन्छौं भनेर हामीले भनेका थियौं।’
शिक्षामन्त्रीबाट राजीनामा दिएका पुन रिसाएर हिँडेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । 'पुन त रिसाएर हिँड्नुभएको हो । दुई-चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर हामीले यो छोटो समयमा कानुन बनाएर सहयोग गर्न उहाँलाई सकेनौं । मुलुककै लागि थियो तर उहाँलाई सहयोग गर्न सकेनौं अनेक परिस्थिति हुन्छ,' उनले भनिन् ।
प्रतिक्रिया