×

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको आरोप: ‘हाम्रो सदाशयतालाई सरकारले कमजोरी ठान्यो’

images

काठमाडौँ (ई-सञ्चारपाटी) । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले आफ्नो कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्। आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पत्रकारहरूसँग बोल्दै नेता आङ्देम्बेले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।

सम्बोधनका क्रममा नेता आङ्देम्बेले वर्तमान सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिता जस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति कत्ति पनि गम्भीर नदेखिएको टिप्पणी गरे। राज्यका विभिन्न निकायहरूबाट पटक-पटक संसद्को स्थापित विधि, प्रक्रिया र गरिमामाथि बेवास्ता हुने गरेको भन्दै उनले यस्ता संवेदनशील विषयहरूमा नेपाली कांग्रेस टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारे।

सरकारको स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको कार्यशैलीबारे समीक्षा गर्न छिट्टै प्रतिपक्षी दलहरूको संयुक्त बैठक बस्ने तयारी भइरहेको नेता आङ्देम्बेले जानकारी दिए। "हामी प्रतिपक्षी दलहरू सँगै बसेर सरकारका पछिल्ला गतिविधि र कामकारबाहीबारे गम्भीर छलफल गर्नेछौँ," उनले भने, "त्यस बैठकपछि मात्रै सरकारप्रति प्रतिपक्षको साझा र संस्थागत धारणा सार्वजनिक गरिनेछ।"

संसदीय दलका नेता आङ्देम्बेले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि पनि कडा प्रश्न उठाएका छन्। रास्वपाले सरकारमा बसेर दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै उनले भने, "राम्रा काम जति सबैको जस आफैँ लिने, तर नराम्रा र विवादित कामको जिम्मेवारी भने सरकारको टाउकोमा थोपर्ने प्रवृत्ति देखिएको छ। सत्तारूढ दल यसरी गैरजिम्मेवार ढंगले प्रस्तुत हुन मिल्दैन।"

उनले सरकारलाई संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य-मान्यताको पूर्ण पालना गर्न सचेत गराउँदै आगामी दिनमा कांग्रेसले संसद् र सडक दुवै ठाउँमा आफ्नो भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने दृढता व्यक्त गरे।

आइतबार​ १६ कात्तिक २०८३ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया