×

६ हजार वडामध्ये आधामा सकियो देउवा पक्षको वडा अधिवेशन, कोशीमा सबैभन्दा बढी ५७७ वडाको नतिजा सार्वजनिक

images

१५ असोज, काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन (पूर्वसभापति शेरबहादुर देउवा) समूहको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया अन्तर्गत देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ। सो समूहका निर्वाचन समिति संयोजक एगराज पोखरेलले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै पहिलो दिन उत्साहजनक रूपमा ३ हजार १९१ वडामा नेतृत्व चयन तथा मतदानको प्रक्रिया सकिएको जानकारी दिएका हुन्।

कांग्रेस संस्थापन इतर पक्ष (गगन थापा समूह) ले यसअघि नै भदौ अन्तिम र असोज पहिलो साता आफ्नो तर्फबाट वडा अधिवेशन सुरु गरिसकेको पृष्ठभूमिमा देउवा पक्षले बिहीबार (असोज १५ गते) देखि समानान्तर रूपमा आफ्ना वडा अधिवेशनहरू देशव्यापी रूपमा अगाडि बढाएको हो। कुल ६ हजार ७४३ वडामध्ये पहिलो चरणमा झण्डै आधा वडाहरूको नतिजा आइसकेको निर्वाचन समितिले जनाएको छ। 

कुन प्रदेशमा कति वडामा सकियो अधिवेशन?
निर्वाचन समितिका संयोजक पोखरेलका अनुसार बिहीबार सातै प्रदेशका देउवा समूहका वडा अधिवेशनहरूको विवरण यस प्रकार छ: 

  • कोशी प्रदेश: ५७७ वडा
  • बागमती प्रदेश: ५६३ वडा
  • लुम्बिनी प्रदेश: ५५० वडा
  • सुदूरपश्चिम प्रदेश: ४५६ वडा
  • मधेश प्रदेश: ४०२ वडा
  • गण्डकी प्रदेश: ३८६ वडा
  • कर्णाली प्रदेश: २५७ वडा 

केही जिल्लामा स्थगित, असोज १८ सम्म सक्ने लक्ष्य
प्राकृतिक विपद् र शोकका कारण केही जिल्लाका वडाहरूमा भने बिहीबार अधिवेशन हुन सकेन। रसुवा जिल्लामा हालैको बाढी पहिरोका कारण र बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको असामयिक निधनका कारण शोक स्वरूप अधिवेशन स्थगित गरिएको छ। बागलुङका बाँकी वडाहरूमा शुक्रबार (असोज १६ गते) देखि नै प्रक्रिया सुरु हुनेछ। 

संस्थापन पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा आफ्नो १५ औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। सोही लक्ष्यलाई पछ्याउँदै बाँकी रहेका सबै वडाहरूमा आगामी असोज १८ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिसक्ने निर्वाचन समितिको विज्ञप्तिमा उल्लेख छ। 

 

बिहीबार १५ असोज २०८३ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया