विशेष कूटनीतिक ब्यूरो
काठमाडौँ, भदौ १६ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच मंगलबार एक विशेष भेटवार्ता भएको छ। हालै नेपाल-चीन सीमा क्षेत्र र विशेष गरी रसुवाको भोटेकोशी नदी बेसिनमा आएको विनाशकारी आकस्मिक बाढी र भू-वातावरणीय संकटको पृष्ठभूमिमा यो महत्वपूर्ण कुराकानी भएको हो।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निजी निवासमा आज दिउँसो भएको उक्त शिष्टाचार भेटवार्तामा मुख्य रूपमा बाढीपछिको उद्धार, राहत तथा पुनस्र्थापनामा द्विपक्षीय सहयोग र भावी रणनीतिबारे गम्भीर छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
भेटका क्रममा चिनियाँ राजदूत माओ मिङले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति चिनियाँ सरकार र जनताका तर्फबाट गहिरो दुःख एवं समवेदना प्रकट गर्नुभयो। राजदूत मिङले संकटको यस कठिन घडीमा चीन सरकार पूर्ण रूपमा नेपालको साथमा रहेको आश्वस्त पार्नुभयो।
"चीन नेपालको घनिष्ठ र सुख-दुःखको साथी हो। विपद्को पहिलो चरणदेखि नै चीनले उद्धारकर्मी, अत्याधुनिक ड्रोन उपकरण र डीएनए विशेषज्ञ टोलीसहित आवश्यक सबै सहयोग उपलब्ध गराउँदै आएको छ," राजदूत मिङले भन्नुभयो, "खोज तथा उद्धार कार्यदेखि लिएर क्षति पुगेका भौतिक संरचना र जलविद्युत आयोजनाहरूको पुनर्निर्माणसम्म चीन नेपाललाई जुनसुकै प्रकारको आर्थिक तथा प्राविधिक सहयोग गर्न पूर्ण रूपमा तयार छ।"
भेटवार्तामा रास्वपा सभापति रवि लामिछानेले नेपालमा परेको ठूलो प्राकृतिक विपत्तिको समयमा चीन सरकारले देखाएको तदारुकता, उद्धार टोली परिचालन र सहयोगप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्नुभयो। लामिछानेले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने यस्ता सङ्कटहरू रोक्न र क्षति न्यूनीकरण गर्न परम्परागत शैलीभन्दा अत्याधुनिक प्रविधिको आवश्यकता रहेको औंल्याउनुभयो।
"नेपालको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा चीनको प्राविधिक तथा आर्थिक सहयोग सधैं महत्त्वपूर्ण रहँदै आएको छ," भेटमा लामिछानेले भन्नुभयो, "आगामी दिनमा सीमा क्षेत्रका हिमनदी र हिमतालहरूको निरन्तर अनुगमन गर्न तथा 'विपद्पूर्व सूचना प्रणाली' (अर्ली वार्निङ सिस्टम) लाई अझ सुदृढ, भरपर्दो र प्रभावकारी बनाउन दुई देशबीच थप कसिलो समन्वय आवश्यक छ।" लामिछानेको सो प्रस्तावप्रति चिनियाँ राजदूतले सकारात्मक प्रतिक्रिया दिँदै सीमावर्ती पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री बनाउन चीन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
रास्वपाले आजै सिंहदरबारमा भोटेकोशी बाढी र उद्धार व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराउन सर्वदलीय बैठकको आयोजना गरेको थियो। सोही राजनीतिक सरगर्मीकै बीच चिनियाँ राजदूत लामिछानेलाई भेट्न उनको निवास पुग्नुलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि सभापति लामिछानेको पूर्वनिर्धारित चीन भ्रमण केही आन्तरिक तयारी र कार्यतालिका परिमार्जनका कारण स्थगित भए पनि दुई देशबीचको उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक संवाद र सहकार्य भने निरन्तर रूपमा अघि बढिरहेको यस भेटवार्ताले स्पष्ट पारेको छ। भेटमा रास्वपाका अन्य कूटनीतिक विभागका नेताहरूको पनि उपस्थिति रहेको थियो।
प्रतिक्रिया