×

सिरहाको लहानमा हट्यो अनिश्चितकालीन कर्फ्यु, स्थिति तनावपूर्ण नै रहेकाले गोलबजारमा भने यथावत्

images

सिरहा। प्रदर्शन र झडपका कारण विगत केही दिनदेखि तनावग्रस्त बनेको सिरहाको लहान क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले लहान बजार र आसपासको स्थिति सामान्य बन्दै गएको समीक्षा गरेपछि कर्फ्यु आदेश फिर्ता लिने निर्णय गरेको हो।

तर, प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको मुख्य स्थल गोलबजार क्षेत्रमा भने सुरक्षा संवेदनशीलता कायमै रहेकाले कर्फ्यु आदेशलाई यथावत् राखिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार लहानमा कर्फ्यु हटेसँगै पूर्व-पश्चिम राजमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न थालेका छन् भने बजार, पसल र शैक्षिक संस्थाहरू बिस्तारै खुल्ने क्रममा छन्।

यद्यपि, गोलबजार क्षेत्रको अवस्था अझै पनि संवेदनशील रहेकाले त्यहाँ सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। गोलबजार नगरपालिका क्षेत्रभित्र सर्वसाधारणलाई घरबाहिर निस्कन, भेला हुन र प्रदर्शन गर्न अझै पनि पूर्ण प्रतिबन्ध छ। गोलबजार र आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त टोलीहरूले निरन्तर गस्ती गरिरहेका छन्। गोलबजारको तनावलाई पनि पूर्ण रूपमा मत्थर पार्न स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजका अगुवाहरूबीच वार्ता र सहमतिको प्रयास भइरहेको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारीले लहानमा कर्फ्यु हटाइए पनि जिल्लाभर उच्च सतर्कता अपनाइएको जनाएका छन्। उनले आम नागरिकलाई सामाजिक सञ्जालमा आउने भ्रामक र उत्तेजक हल्लाहरूको पछि नलाग्न र वर्षौँदेखिको सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

गोलबजारमा भएको घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (SSP) को नेतृत्वमा गठित समितिले स्थलगत अध्ययन सुरु गरिसकेको र स्थिति पूर्ण नियन्त्रणमा आउनासाथ गोलबजारको कर्फ्यु पनि हटाइने प्रशासनले स्पष्ट पारेको छ।

शनिबार १६ साउन २०८३ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया