नाउपाका अध्यक्ष श्रेष्ठ र संरक्षक रेशमबीचको विवाद पुनः सतहमा ,रन्जितालाई हटाइयो संसदीय दलको नेताबाट

    images

    धनगढी । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् ।

    पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन्। रञ्जिता नाउपाका संस्थापक नेता रेशम चौधरीकी पत्नी हुन्। पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।

    संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।

    श्रेष्ठ नयाँ समीकरणलाई सघाउने र चौधरी कांग्रेससहितको समीकरणको पक्षमा उभिएका थिए । यसअघि गंगाराम प्रमुख सचेतक थिए। प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन्।

    सोमबार १७ असार २०८१ ११:३९ AM मा प्रकाशित

    प्रतिक्रिया