पाेखरा। सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी रहेको स्रेस्तेदार राजन खनालले जानकारी दिए। लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्।
लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र नेचर हर्बस् इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङको कास्की जिल्ला अदालतमा बयान सकिएको छ। उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगमा पुस ७ गते मुद्दा दायर भभएको थियो।
“आज प्रतिवादी आरती गुरुङको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ,” स्रेस्तेदार खनालले भने। सूर्यदर्शन सहकारीको रकम अवैधानिक रुपमा गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रतिवादीहरुको तर्फबाट तीन दर्जन कानुन व्यवसायीले वकालतनामा लिएका छन्।
सहकारी ठगी प्रकरणमा पूर्वकोषाध्यक्ष गुरुङको बयान सकिएपछि कास्की जिल्ला अदालतमा सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले थुनछेक बहस गरिरहेकी थिइन् ।
शर्माले संस्थापक अध्यक्ष जम्जन, उपाध्यक्ष गुरुङलगायत पदाधिकारी र कृष्णबहादुर गुरुङसमेत सञ्चालक रहेको समितिले सामूहिक रूपमा निर्णय गरेर सहकारीको रकम गएको देखिने बताइन् । शर्मा बोल्दाबोल्दै संस्थापक सञ्चालकसमेत रहेका कृष्णबहादुर उठे र आँसु झार्दै आफूले सहकारीको रकम हिनामिना नगरेको बताए ।
‘मैले एक सुका खाएको छैन, यति ठूलो आरोप लाग्यो । यो सब झुठो हो,’ न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको थुनछेक बहसमा सहायक न्यायाधिवक्ता शर्मालाई रोक्दै कृष्ण भक्कानिए । जब कृष्ण भक्कानिए तब पूर्वसांसदसमेत रहेकी मीना गुरुङ पनि रुन थालिन् । मीनासँगै पूर्वकोषाध्यक्षसमेत रहेकी आरती पनि रुन थालिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीहरू प्रारम्भिक चरणमै दोषी देखिएकाले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने शर्माले बहस गरिरहँदा एकाएक इजलासमा सन्नाटा छायो । त्यतिञ्जेलसम्म कार्यालय समय पनि सकिइसकेको थियो । न्यायाधीश राइले बहस गरिरहेकी शर्मालाई रोके र मंगलबारका लागि थुनछेक बहस स्थगित गरे ।
लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना, सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद र संगठित अपराधमा थप ५० प्रतिशत सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ।
उनीसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो एक करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो एक करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दर्ता भएको छ।
प्रतिक्रिया