×

आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन

images

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

 व्रतालुले इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, हाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेर व्रत समापन गरेका हुन ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।


छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।


 

सोमबार १४ कात्तिक २०७९ ०८:२३ AM मा प्रकाशित

प्रतिक्रिया