×

सुनसरी देवानगञ्ज घटना: गृहमन्त्री र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई 'शहीद' घोषणा र राहत दिइने

images

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसक झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। बिहीबार रातिदेखि शुक्रबार बिहान ५ बजेसम्म चलेको गृह मन्त्रालय र पीडित पक्षको सघन वार्तापछि गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकहरूबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। 

सहमतिसँगै आन्दोलनरत पक्ष मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव बुझ्न र अन्तिम संस्कार गर्न राजी भएका छन्। 

सहमति पत्रका ७ मुख्य बुँदाहरू 

१. शहीद घोषणा र राहत: मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई नेपाल सरकारका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने।
२. निष्पक्ष छानबिन र कानुनी कारबाही: साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने।
३. मदरसाको छानबिन: देवानगञ्ज गाउँपालिका–३ मा रहेको मदरसाको कानुनी हैसियत तथा सोसँग सम्बन्धित विवादित विषयहरूको आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने।
४. रोजगारीको व्यवस्था: पीडित दुवै परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
५. प्रतिवेदन कार्यान्वयन: घटनाको अध्ययनका लागि गठित उच्चस्तरीय छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने।
६. स्मृति पार्क निर्माण: मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा 'स्मृति पार्क' (उद्यान) निर्माण गर्ने।
७. अन्तिम संस्कार: सहमति भएसँगै शुक्रबार (साउन १५ गते) दिउँसो २ बजे मृतकहरूको अन्तिम संस्कार सम्पन्न गर्ने।

कसले गरे हस्ताक्षर र अहिलेको अवस्था के छ?

सम्झौता पत्रमा सरकारका तर्फबाट स्वयं गृहमन्त्री गुरुङ र पीडित परिवारका तर्फबाट ओमप्रकाशका पिता कृष्णदेव मेहता तथा जयप्रकाशका पिता नरेश मेहताले हस्ताक्षर गरेका छन्।

विगत ५ दिनदेखि सुनसरीको देवानगञ्जबाट सल्किएको यो आन्दोलन मधेश र कोशी प्रदेशका सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाहरूमा फैलिएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले यो सम्झौतापछि आन्दोलन पूर्ण रूपमा साम्य हुने र सामाजिक सद्भाव पुनः कायम हुने विश्वास लिएको छ। गृहमन्त्री गुरुङ सुनसरीको वार्ता सकिएलगायत प्रदर्शनका क्रममा अर्का युवक गणेश यादवको मृत्यु भएको सिरहा क्षेत्रको वस्तुस्थिति बुझ्न र मृतक परिवारलाई भेट्न त्यसतर्फ प्रस्थान गरिसकेका छन्। 

शुक्रबार​ १५ साउन २०८३ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया